बिर्तामोड, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १२ गते झापाको बिर्तामोडमा जनजागरण सभा आयोजना गर्ने भएको छ ।
बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमार्फत राप्रपाले जनजागरण सभाको तयारीबारे जानकारी दिएको हो ।
राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जेनजी आन्दोलनपछि विकसित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउने उद्देश्यले जनजागरण सभा गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार जनजागरण सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा झापाका १५ वटै स्थानीय तहका १३१ वटै वडाबाट कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता रहने जनाइएको छ ।

जनजागरण सभा सभ्य र मर्यादित तवरले सम्पन्न गरिने अध्यक्ष ओझाले जानकारी दिनुभयो । सभाको सफल आयोजनाका लागि विभिन्न उपसमिति गठन गरिसकिएको र जिल्ला प्रशासन कार्यालयबाट आवश्यक अनुमति समेत लिइसकिएको पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जनजागरण सभाका लागि पूर्वबाट पार्टी नेतृ सबिना बजगाईंको नेतृत्व रहनेछ भने पश्चिमबाट प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फबाट केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गर्नुहुनेछ ।
राप्रपाले जनजागरण सभामार्फत संगठन सुदृढीकरणका साथै जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य लिएको जनाएको छ














