झापा  बिर्तामोड, भरत प्रसाई, प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा ‘अग्रजलाई सुनौँ’ कार्यक्रम सम्पन्न भएको छ।

बिर्तामोडस्थित प्रेस चौतारीको सभा हलमा आयोजित कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्यले पत्रकारिता यात्राका अनुभव,भोगाइ तथा पत्रकारिता क्षेत्रमा आइपरेका चुनौतीहरूबारे प्रेरणादायी विचार व्यक्त गर्नुभएको थियो।

IMG_3339

प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाकी उपाध्यक्ष सुनिरा मैनालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रेस चौतारी नेपाल कोशी प्रदेश सह–इन्चार्ज गोपाल काफ्लेले संघर्षले भरिएको हिजोको पुस्ताको पत्रकारिता र आजको पुस्ताले अभ्यास गरिरहेको पत्रकारिताबीच देखिएका फरक, संघर्ष र चुनौतीहरू अग्रज पत्रकार केशव आचार्यका अनुभवमार्फत सुन्न पाउँदा समग्र झापाली पत्रकारहरू प्रेरित भएको बताउनुभयो।

IMG_3302

उहाँले झापाली पत्रकारिताको विकासमा अग्रज पत्रकार केशव आचार्यको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो।

साथै प्रेस चौतारी झापा शाखाको अभ्यासलाई सिको गर्दै केन्द्रीय कमिटीले समेत ‘अग्रजलाई सुनौँ’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउँदै झापा शाखालाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको अभ्यास पनि परिवर्तन हुँदै गएको र हाल चौथो पुस्ताका पत्रकारहरू क्रियाशील रहेको धारणा राख्नुभयो।

605438613_1516416969847875_2675349111226180831_n

कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय पूर्व सदस्य तथा अग्रज पत्रकार गणेश पोखरेलले पत्रकारितामा देखिएका व्यथिति र विसङ्गतिलाई चिर्दै अग्रजहरूले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो।

उहाँले कलमको धर्म नछोडी खोजमूलक तथा जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख वक्ता पत्रकार तथा साहित्यकार केशव आचार्यले निरन्तर असफलताका बाबजुद हिम्मत नहारी संघर्ष गर्दै जाँदा आफू साहित्य र पत्रकारिताको क्षेत्रमा स्थापित हुन सफल भएको अनुभव साझा गर्नुभयो।

आचार्यका अनुसार २०४७ सालतिर बहुदल आएपछि झापाको बिर्तामोडस्थित कृषिथोक नजिकै आयोजित एक आमसभामा नेता भण्डारीले सम्बोधन गर्दै देशमा गरिबी नहटेसम्म एमाले गरिबको पक्षमा लडिरहने बताउनुभयाे थियाे

तर, सोही विषयलाई काठमाडौंबाट प्रकाशित देशान्तर  साप्ताहिक पत्रिकामा पत्रकार आचार्यले भण्डारीले “गरिब जनता रहिरहेसम्म एमाले पार्टी रहिरहन्छ” भनेको आशयमा समाचार    छाप्नुभएको थियो । 

IMG_3291त्यही विषयलाई लिएर करिब तीन महिनापछि चुनावी सभालाई सम्बोधन गर्न झापा आएका नेता भण्डारीले सभामै कांग्रेस पार्टीको हड्डी चुस्ने पत्रकारले झापामा पित पत्रकारिता गरिरहेको आरोप लगाएको कुरा आचार्यले सुनाउनु भयाे । 

नेता भण्डारीले पत्रकार आचार्यको नाम नलिई घुमाउरो शैलीमा आफूलाई नै इंगित गरेको उहाँको दाबी छ।
नेता भण्डारीले भनेको कुरा गलत रूपमा प्रस्तुत भएको महसुस भए पनि त्यो ‘पित पत्रकारिता’ नै भएको स्वीकार गर्नुपरेको आचार्यले बताउनुभयाे । 

त्यतिखेरका जल्दाबल्दा पत्रकार आचार्य २०३४ सालदेखि विभिन्न स्थानीय पत्रपत्रिकामा समाचार तथा कविताहरू लेख्दै आउनु भएकाे  थियाे । 
२०३६ सालको जनमत संग्रहमा बहुदल पक्ष पराजित भएपछि २०३८ सालमा बिर्तामोडस्थित कांग्रेस नेता भरतबाबु प्रसाईको सुशील कुटीमा युगपुरुष विशेश्वरप्रसाद कोइरालासँग आफू, स्व. मदन ढकाल र स्व. गोपिकृष्ण खनालले अन्तरवार्ता समेत लिएको आचार्यले बताउनुभयाे । 

कविता लेख्दै पत्रकारितामा लागेको देखेर उहाँका बुबाले “छोरो काम नलाग्ने भयो” भन्ने गर्नुहुन्थ्यो । 

आचार्यले त्यसबेला बुबालाई सम्झाउँदै नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भएको, पत्रिकाको सम्पादक बनेको, विभिन्न संघ–संस्थाबाट सम्मान पाएको र साहित्यकारसमेत भइसकेको कुरा बताउँदा पनि बुबाले भने “नापिस्, कविता लेखेर, पत्रकारिता गरेर के हुन्छ र?” भन्ने गर्नु हुन्थ्यो।

उहाँले पञ्चायती शासन व्यवस्था र प्रजातान्त्रिक शासन व्यवस्थाका दुवै कालखण्ड भोगेको स्मरण गर्दै प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भए पनि पत्रकारको धर्म र जिम्मेवारी कहिल्यै नछोड्नुपर्नेमा जोड दिनुभयो।


उहाँले २८ वर्षको उमेरमै झापामा युवा कविका रूपमा चर्चित भएको स्मरण गर्दै चरम विपन्नताबाट गुज्रँदै संघर्षपूर्ण यात्रा तय गरेको अनुभव सुनाउनुभयो।

२०२७ सालमा एसएलसीमा असफल भएपछि मोरङको इटहराबाट शिक्षण पेशा सुरु गरेको, मासिक ४८ रुपैयाँ तलब पाउने रमाइलो प्रसङ्ग सुनाउँदै २०२९ सालमा विराटनगरमा कलेज अध्ययनका क्रममा साहित्यिक रुचि बढ्दै गएको बताउनुभयो।

कलेजको नियमित पढाइभन्दा बाह्य अध्ययन र सृजनात्मक लेखनमा बढी समय खर्च गरेको, २०३० सालमा आइकममा अनुत्तीर्ण हुँदा अझ बढी संघर्ष गर्नुपर्ने अनुभूति भएको तथा २०३४ सालमा भूपी शेरचनसँगको भेटले साहित्यिक यात्रामा थप ऊर्जा दिएको प्रसङ्ग पनि उहाँले साझा गर्नुभयो।

कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले अग्रज पत्रकारहरूको अनुभव, प्रेरणा र हौसला नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले ‘अग्रजलाई सुनौँ’ कार्यक्रमको परिकल्पना गरिएको बताउँदै यसले नयाँ पुस्ताका पत्रकारहरूलाई ऊर्जा, आत्मबल र प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

605541739_1516416929847879_7520840765328504161_nकार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल झापा शाखाका सचिव युवराज आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एमाले बाह्रदशी गाउँपालिकाका अध्यक्ष अनिल सापकोटाको उपस्थिति रहेको थियो।

IMG_3320कार्यक्रममा नारी सञ्चारगृह झापाकी उपाध्यक्ष जोशना श्रेष्ठ, सचिव दिपा सापकोटा पोख्रेल, अग्रज पत्रकार रमा दाहाल, पत्रकार सन्तोष न्यौपाने, प्रेस चौतारी झापा शाखाका कार्यसमिति सदस्य भरत प्रसाईं, पत्रकार केशवराज भण्डारी, सन्जु शिवाकोटी, रन्जिता खड्का, सृजन घिमिरे, पत्रकार रमेश तिवारी, सिर्जना परियार, सहसचिव तिलक योञ्जन, कार्यसमिति सदस्य प्रकाश बानियाँ, कोषाध्यक्ष सरोज भट्टराई, कार्यसमिति सदस्य अस्मिता साँखी, रविकिरण बान्तवा, कवि गुरागाईं, तीर्थराज तिम्सिना, अग्रज पत्रकार  अर्जुन कार्कीलगायत झापाली पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शिक्षकसमेत भइसक्नुभएका आचार्य हालसम्म पनि साहित्य र पत्रकारितामा निरन्तर रूपमा सक्रिय  हुनुहुन्छ ।