१५ पुस, काठमाडौं ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतपत्र छपाइको तयारीलाई तीव्रता दिएको छ। आयोगका अनुसार पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छापिने छन् भने त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छापिनेछन्।

मतपत्र छपाइको काम भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्रको छापाखानाबाट सुरु गरिने छ।

आयोगले पुस १६ गतेदेखि औपचारिक रूपमा मतपत्र छाप्ने कार्य तालिकाबद्ध रूपमा अघि बढाउने निर्णय गरिसकेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिक प्रणालीमा सहभागी राजनीतिक दल र तिनका निर्वाचन चिह्न टुंगो लागिसकेकाले सोहीतर्फका मतपत्र पहिला छापिने जानकारी दिए।

 जनहितमा जारी

उनका अनुसार समानुपातिकतर्फ ५८ राजनीतिक दल सहभागी छन् र ६४ वटा निर्वाचन चिह्न स्वीकृत भइसकेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिसकेको छ।

आयोगको नीतिअनुसार समानुपातिक प्रणालीका लागि कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छापिने व्यवस्था गरिएको छ।