काठमाडौँ, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक तर्फको बन्दसूचीप्रति कडा आपत्ति जनाएकी छन् ।
उनले समानुपातिक प्रणालीको मर्म र अवधारणाविपरीत सूची पेस गरिएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै कार्कीले समानुपातिक प्रणाली भौगोलिक विकटता, पहुँच र शक्ति नभएका तर सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व गराउने उद्देश्यका लागि व्यवस्था गरिएको बताइन् ।
तर पार्टीले पेस गरेको सूचीले उक्त उद्देश्यलाई नै कमजोर बनाएको उनको आरोप छ ।
कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, “समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन भनेर राखिएको हो ।
सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, गाउँ बोल्नुपर्छ । तर पार्टी नेतृत्वका आफन्त र पार्टीको भाइटल पोस्टमा रहनेहरू नै समानुपातिक सूचीमा आकाङ्क्षी हुनु र त्यही आफ्नो स्थान सुरक्षित गर्नुले समानुपातिक प्रविधिको औचित्यमाथि प्रश्न उठेको छ ।”
उनले पार्टी पदाधिकारी र सचिवालय सदस्यहरूलाई समानुपातिक सूचीमा समेटिएको विषयमा समेत असन्तुष्टि व्यक्त गरेकी छन् । पार्टीले समानुपातिकका लागि गरेको प्राइमरी भोटिङको सम्मान नगरिएको आरोप पनि उनले लगाएकी छन् ।
“पार्टीको भाइटल पोजिसनमा बस्ने साथीहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ,” उनले लेखेकी छन्, “अहिले पार्टी झनै ठूलो भएको छ, साथीहरू किन डराउनुभएको ?”
कार्कीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ–आफ्नो नाम समानुपातिक सूचीबाट हटाई प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने माग गरेकी छन् ।
रास्वपाले समानुपातिक बन्दसूचीका लागि प्राइमरी भोटिङ गरे पनि त्यसमा अग्रपङ्क्तिमा रहेका केही नेताहरू नपरेको र केही सेलिब्रेटी, पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरू सूचीमा समेटिएको विषयमा पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको छ ।














