बिर्तामोड । भरत प्रसाई 

पठनलाई जनजीवनसँग जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको पठन संस्कृति वर्ष २०२६ अभियानको पहिलो कार्यक्रमका रूपमा BEES इन्टरनेशनल एजुकेसन सर्भिसमा मिनी लाइब्रेरी स्थापना गरिएको छ।


कन्सल्टेन्सीका सञ्चालक अशोक भण्डारीले पठन संस्कृति वर्ष २०२६ प्रति ऐकबद्धता जनाउँदै पहिलो कार्यक्रमका रूपमा मिनी लाइब्रेरीको अवधारणा अघि सारिएको बताउनुभयो।

उहाँले बैंक, सहकारी, वित्तीय संस्था, क्याफे, होटल, संघसंस्था, खानेपानी कार्यालय तथा सरकारी निकायजस्ता उपभोक्ताको बढी भिड हुने स्थानमा यस प्रकारका मिनी लाइब्रेरी अनिवार्य रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

यसले पठन संस्कृतिलाई व्यवहारमै उतार्न मद्दत पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै पठन संस्कृति वर्ष २०२६ का कार्यक्रम संयोजक तीर्थ सिग्देलले अभियान केही समयअघि घोषणा गरिए पनि यसको प्रयोगात्मक सुरुआत जनवरी १, अङ्ग्रेजी नयाँ वर्ष २०२६कै दिन BEES इन्टरनेशनल एजुकेसन सर्भिसबाट भएको बताउनुभयो।


उहाँले यो अभियानमा सबैलाई जोडिन आग्रह गर्दै पठन संस्कृति वर्षलाई सामूहिक अपनत्वसहित अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

अभियानका लागि अभियन्ता समितिका अध्यक्ष प्रकाश गुरुङले नयाँ अङ्ग्रेजी वर्ष २०२६ को शुभकामना व्यक्त गर्दै पठन संस्कृति वर्ष २०२६ को पहिलो कार्यक्रमका रूपमा यो कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो।

उहाँले जागरुक समाजले पठन संस्कृतिको महत्व बुझी हरेक क्षेत्रमा मिनी लाइब्रेरीको अवधारणा विकास गर्दै गए समाज र राष्ट्रमा पठन संस्कृतिको स्वस्थ विकास हुने उल्लेख गर्नुभयो।

त्यस्तै, पठन संस्कृति वर्ष २०२६ का संयोजक तथा ईसा बुक सेन्टरका सञ्चालक केशव मैनालीले पठन संस्कृतिलाई राष्ट्रिय संस्कृतिका रूपमा रूपान्तरण गर्न पढ्ने बानीको विकास अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रमको थालनी भइसकेको र यसले भविष्यमा विशाल रूप लिनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो।

BEES इन्टरनेशनलका सञ्चालक अशोक भण्डारीले पठन संस्कृति वर्ष २०२६ अपेक्षाअनुरूप सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै मिनी लाइब्रेरीलाई निरन्तरता दिई विद्यार्थीहरूलाई पुस्तकको महत्वबारे अझ बढी जानकारी दिने प्रतिबद्धता जनाउनुभयो।


कार्यक्रमको समापन गर्दै संयोजक तीर्थ सिग्देलले ‘पाठक जहाँ, त्यहीँ पुस्तकालय’ भन्ने अवधारणाको विकास आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “आजका मानिससँग समयको अभाव छ, सार्वजनिक पुस्तकालयसम्म पुग्न गाह्रो मान्छन्। त्यसैले मानिस जहाँ–जहाँ हुन्छन्, त्यहीँ पुस्तक पुगेमा पढ्ने रुचि स्वतः बढ्दै जान्छ।”