बिर्तामोड । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नौ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. २ को बैठकले सभामुख देवराज घिमिरेसहित नौ जनाको नाम सिफारिस गरेको हो। क्षेत्रीय संयोजक बद्री भट्टराईका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा सभामुख घिमिरे, पूर्वमन्त्री अग्नी खरेलसहित विभिन्न नेताको नाम अघि सारिएको हो।

सिफारिस सूचीमा अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रसाद ओली, एकराज कार्की, नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी, महिला नेतृ पवित्रा पाठक तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सचिव पर्वतराज भण्डारी रहेका छन्। युवातर्फबाट भण्डारीको नाम सिफारिस गरिएको हो। १३ जना आकांक्षीमध्ये चार जनाले नाम फिर्ता लिएका थिए।

क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेका नामहरू पार्टी जिल्ला कमिटीमा पठाइसकेको भट्टराईले जानकारी दिए। उनका अनुसार जिल्ला कमिटीले प्रदेश कमिटीमा नाम सिफारिस गर्नेछ भने प्रदेश कमिटीले केन्द्रमा अन्तिम नाम सिफारिस गर्ने प्रक्रिया रहनेछ।

झापा निर्वाचन क्षेत्र नं. २ को नाम सिफारिस भएसँगै नेकपा एमालेले जिल्लाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिसको प्रक्रिया पूरा गरेको जनाएको छ।