पठन संस्कृति वर्ष २०२६ सफल बनाउन विराट-अर्जुनमा मिनी लाइब्रेरी

बिर्तामोड । बिर्तामोडस्थित विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले ‘पठन संस्कृति वर्ष २०२६’ अभियानलाई सफल बनाउने उद्देश्यसहित संस्थाको कार्यालयमा मिनी लाइब्रेरी स्थापना गरेको छ ।

संस्थाका कर्मचारी तथा शेयर सदस्यहरुका लागि मिनी लाइब्रेरी प्रभावकारी हुने बताउँदै संस्थाका अध्यक्ष नवीन खरेलले झापामा पहिलोपटक सहकारीलाई यस अभियान जोड्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

मिनी लाइब्रेरीको उद्घाटन गर्नुहुँदै वीरता रिडर्सका संयोजक तथा लेखक तीर्थ सिग्देलले भन्नुभयो, ‘पढाइले चेतनाको विकाससँगै कार्यक्षमता र सोचको दायरालाई फराकिलो बनाउँछ, त्यसैले सहकारीको सदस्य शिक्षा कार्यक्रममा पठन संस्कृतिलाई जोड्न सके त्यो अझ प्रभावकारी हुनेछ ।’

 जनहितमा जारी

वीरता रिडर्सका सहसंयोजक तथा इशा बुक्स सेन्टर बिर्तामोडका सञ्चालक केशव मैनालीले यो अभियानमा जोडिन सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पठन संस्कृति वर्ष सबैको सहयोगमा मात्रै सफल बन्छ, विराट-अर्जुन सहकारीले यो अभियानमा एउटा उत्साह थपेको छ ।’

कार्यक्रममा विराट-अर्जुन सहकारीका सञ्चालक सदस्य राजेश दाहालले पढ्नुपर्छ भन्ने बुझाइ हराउँदै गएको बेला पठन संस्कृति अभियानले पढ्नुपर्छ भन्ने चेत खोलिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार मोहन काजी, संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद कुइँकेल, सदस्य ईश्वरीप्रसाद काफ्ले, शारदा सिटौला, व्यवस्थापक सुनिता दङ्गाल लगायत कर्मचारी तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।