बिर्तामोड। भरत भाबुक प्रसाई , लगानीमूलक क्षेत्रमा सक्रिय इष्टर्न साहारा कम्पनी लिमिटेडले अब सर्वसाधारणलाई समेत आफ्नो यात्रामा सहभागी गराउने तयारी थालेको छ।
कम्पनीको तेस्रो वार्षिक साधारण सभाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने ऐतिहासिक निर्णय गर्दै २७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सार्वजनिक रूपमा जारी गर्ने प्रस्ताव पारित गरेको हो।
बिर्तामोडस्थित सिटी प्यालेसमा सम्पन्न साधारण सभाको उद्घाटन कलाकारिता र व्यक्तित्वका कारण राष्ट्रिय स्तरमै परिचित महानायक राजेश हमालले गर्नुभएको थियो।
सभामा आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण कानुनी, प्राविधिक तथा प्रक्रियागत कार्य अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गरिएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।
साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाबाट अनुमोदन भएको छ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समयसापेक्ष संशोधन र परिमार्जन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ।

वि.सं. २०७९ मा स्थापना भएको इष्टर्न साहारा हाल १ अर्ब ५० करोड रुपैयाँ अधिकृत पुँजी र १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजीसहित सञ्चालनमा छ।
कम्पनीले विशेषगरी हरित र दिगो लगानीलाई प्राथमिकतामा राख्दै जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, सेवा क्षेत्र तथा खनिज उत्खननजस्ता भविष्य उन्मुख र उत्पादनशील क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै आएको छ।
कम्पनीका अध्यक्ष महेन्द्र गिरीका अनुसार, सामाजिक तथा वित्तीय क्षेत्रका अनुभवी र लब्धप्रतिष्ठित व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालित यस संस्थाको मुख्य उद्देश्य छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र र दीर्घकालीन परियोजनामा परिचालन गर्नु हो।
आईपीओ निष्कासनसँगै कम्पनी सार्वजनिक स्वामित्वतर्फ प्रवेश गर्ने र अझ पारदर्शी तथा उत्तरदायी रूपमा अघि बढ्ने उनले बताए।
अध्यक्ष गिरीले हाइड्रो, सोलार, कृषि, सूचना प्रविधि, पर्यटन र पूर्वाधार क्षेत्रमा गरिएको लगानीले आर्थिक प्रतिफलसँगै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गरे।
बिर्तामोडमा मुख्य कार्यालय र काठमाडौंको बानेश्वर हाइटमा सम्पर्क कार्यालय रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.८१ रुपैयाँ रहेको निर्देशक कृष्ण रानाभाटले जानकारी दिए।

कार्यक्रममा साहस उर्जा लिमिटेडका कम्पनी सचिव दिनेश रोक्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गर्नुभएको थियो।














