झापाको बिर्तामोड–१ मा निर्माणाधीन बहुजातीय सांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणका परिकल्पनाकार माधब ‘कल्पित’को नेतृत्वमा रहेको क्षितिज नाट्य प्रतिष्ठान झापाको टोलीले ‘एक इट्टा अभियान’सहित अर्थमन्त्री माननीय रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ।

स्थानीय जनसहभागिता, श्रम र साना सहयोगबाट निर्माण भइरहेको झापा नाटकघरलाई राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न आवश्यक बजेट, संरचनागत सहयोग र दीर्घकालीन संरक्षणको माग गर्दै टोली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको हो।

d1e41b78-e872-4f3f-92ef-f45a80e8e013

ज्ञापनपत्रमा झापा नाटकघर केवल नाटक मञ्चनको स्थल मात्र नभई बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको साझा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने स्पष्ट लक्ष्य उल्लेख गरिएको छ। अभियन्ताहरूले कला, साहित्य र रंगमञ्चको संरक्षण बिना समाजको चेतना, राष्ट्रिय एकता र सांस्कृतिक पहिचान कमजोर हुने चेतावनीसमेत दिएका छन्।

टोलीमा क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा झापा नाटकघरका निर्माण परिकल्पनाकार माधब ‘कल्पित’, नाट्य समूहकी उपाध्यक्ष तथा रंगकर्मी सुजना खतिवडा, अन्तर्राष्ट्रिय कलाकार संघका सदस्य राजु श्रेष्ठ, अनिता पौड्याल, पुष्पराज भण्डारी तथा नाटकघरका सल्लाहकार एवं जग्गादाता कुमार पौड्याल सहभागी थिए।

bc78be4c-8408-4a3e-96c6-db6010cfc830

केन्द्रीय अध्यक्ष कल्पितका अनुसार करिब सात वर्षअघि सडकमा ‘एक थान इट्टा’ माग्दै सुरु गरिएको अभियानबाट सम्भवतः कोशी प्रदेशकै पहिलो नाट्य संग्रहालय निर्माणको आधार स्थानिय श्रोत साधनबाट भएको हो   ।

हालसम्म करिब ३ करोड ५० लाख रुपैयाँ लागतमा नाटकघरको संरचना निर्माण गर्न प्रतिष्ठान सफल भयो भने १ धुर भूमिदानमार्फत १ सय ४५ धुर जग्गा नाट्य समूहको नाममा सुरक्षित भइसकेको छ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो बहुजाती,बहुभाषिक तथा बहुसांस्कृतिक संग्रहालय निर्माण गर्ने लक्ष्यसहित करिब २५ करोड रुपैयाँ लागतको दीर्घकालीन प्रस्तावना अर्थमन्त्रीसमक्ष पेश गरिएको अध्यक्ष कल्पितले जानकारी दिएका छन्।