बिर्तामोड।भरत प्रसाई , वैदेशिक रोजगारीबाट आर्जित सीप र अनुभवलाई स्वदेशमै सदुपयोग गर्दै बिर्तामोडकी एक महिलाले सफल उद्यमशीलताको उदाहरण प्रस्तुत गरेकी छन्।
झापाको बिर्तामोड नगरपालिका–२ चारपाने निवासी निशा कन्दङ्वाले करिब ६० लाख रुपैयाँभन्दा बढी लगानीमा ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी हुन्।
वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्षभन्दा बढी समय संयुक्त अरब इमिरेट्स (यूएई)मा बिताएकी कन्दङ्वाले त्यही क्रममा सिकेको ब्युटीपार्लरसम्बन्धी सीपलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले बिर्तामोड–भद्रपुर रोडमा आधुनिक सुविधा सहितको ब्युटी लाउञ्ज तथा प्रशिक्षण केन्द्र स्थापना गरेकी बताइन्।
दश वर्षभन्दा बढी समय ब्युटीपार्लर क्षेत्रमा अनुभव हासिल गरेकी कन्दङ्वाले आफू दक्ष बनेपछि मात्र उद्यममा प्रवेश गरेको उल्लेख गर्दै स्वरोजगारमुखी सीप विकासमा केन्द्रले विशेष जोड दिने बताइन्।
केन्द्रमार्फत ब्युटीपार्लरसम्बन्धी सम्पूर्ण सेवा, नेल्स, हेयर, आईल्यासेस एक्सटेन्सन, मसाजलगायत सेवा सर्वसुलभ दरमा उपलब्ध गराइने उनको भनाइ छ।
उद्घाटनको अवसरमा एक महिनासम्म सम्पूर्ण सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिँदै उनले सेवा लिन सबैलाई आग्रह गरिन्।
हाल केन्द्रमा पाँच जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ भने ब्युटीपार्लरसम्बन्धी सीप सिकेर विदेश जान चाहनेहरूलाई दक्ष प्रशिक्षकमार्फत तालिम दिइने तथा अन्तर्राष्ट्रिय स्तरका ब्युटी प्रोडक्टसमेत बिक्री गरिने उनले बताइन्।
यसैबीच एक कार्यक्रमबीच ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरको औपचारिक उद्घाटन गरिएको छ।
उद्घाटन समारोहका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले उद्यमशील महिलाको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता व्यवसायले स्थानीय अर्थतन्त्र मजबुत बनाउने बताए।
ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका निशा कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक व्यक्तित्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर सचिव सृजन अधिकारी, लायन्स क्लब अफ अनारमनीका अध्यक्ष सरोज खरेल, लायन्स क्लब जोन चियरपर्सन शर्मिला जोशी लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन सामाजिक व्यक्तित्व हेमन्त पाण्डेले गरेका थिए।














