झापा।
झापा क्षेत्र नम्बर २ बाट नेकपा संयुक्तका उम्मेदवारले आफ्नो उम्मेदवारीलाई सामान्य चुनावी प्रतिस्पर्धा नभई देशको राजनीतिमा पुस्तागत परिवर्तनको निर्णायक संघर्षका रूपमा प्रस्तुत गरेका छन्।
भ्रष्टाचार मौलाउँदै गएको, पुरानै नेतृत्वले राज्य दोहन गरिरहेको र युवाको भविष्य संकटमा पर्दै गएको वर्तमान अवस्थालाई बदल्नका लागि आफू मैदानमा उत्रिएको उनको भनाइ छ।
करिब ३७ वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका उनले २०४४ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।
विद्यार्थी आन्दोलनका विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले थुप्रै जिम्मेवारी सम्हालेका थिए।
उनले अहिले देशमा इमानदार, भ्रष्टाचार नगर्ने र घुस नखाने नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै पुरानै अनुहार र प्रवृत्तिलाई दोहोर्याउँदा देश अझै भ्रष्टाचारको भुमरीमा फस्ने खतरा बढेको बताएका छन्।
उनका अनुसार पहिलो पुस्ताका नेतृत्वले समयमै जिम्मेवारी हस्तान्तरण नगरे देशले फेरि ठूलो राजनीतिक दुर्घटना भोग्नुपर्नेछ।

झापा क्षेत्र नम्बर २ का कन्काईका दुई, अर्जुनधाराका ११ र बुद्धशान्तिका तीन वडासहित सबै २५ वडाका प्रत्येक टोलमा पुगेर जनताको भावना बुझिसकेको दाबी गर्दै उनले आम मतदाताको साझा चाहना पुराना पार्टी र पुरानो सोचबाट मुक्त भई नयाँ पुस्तालाई अवसर दिनु रहेको बताए।
जनताले भाषणभन्दा इमानदार काम र जवाफदेही नेतृत्व खोजिरहेको उनको भनाइ छ।
भदौ २३ र २४ गते युवाहरूले अभिव्यक्त गरेको असन्तोष र आन्दोलनलाई उनले नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिँदै अबको राजनीतिमा युवाहरू अग्रपंक्तिमा आउनैपर्ने आवश्यकता औंल्याए।
विशेषगरी ५० वर्ष मुनिको पुस्ताले नेतृत्व नगरे देशको भविष्य थप अन्धकारतर्फ जाने उनको तर्क छ।
उनले एमसीसी र महाकाली सन्धि जस्ता विषयमा विदेशी शक्तिसँग झुक्ने प्रवृत्तिको कडा आलोचना गर्दै यस्ता सम्झौताका मतियारलाई यस क्षेत्रबाट हटाउनुपर्ने बताएका छन्।
यस्ता निर्णयहरूले राष्ट्रिय स्वाधीनता मात्र होइन, युवाको भविष्यसमेत धरापमा पारेको उनको आरोप छ।

मतदातालाई सोचविचार गरेर मतदान गर्न आग्रह गर्दै उनले एकचोटि नसोची भोट दिए पाँच वर्ष पछुताउनु पर्ने अवस्था आउने चेतावनी दिए।
उनका अनुसार यो चुनाव व्यक्ति वा पार्टीको मात्र नभई झापा क्षेत्र नम्बर २ का जनताको भविष्य र नयाँ पुस्ताको प्रतिनिधित्वको प्रश्न हो।
भ्रष्टाचारविरुद्ध स्पष्ट अडान, लामो राजनीतिक अनुभव र नयाँ पुस्ताको प्रतिनिधित्वको दाबीका साथ झापा क्षेत्र नम्बर २ मा उनको उम्मेदवारीले पुरानो राजनीतिक संरचनालाई गम्भीर चुनौती दिएको छ।














