झापाको बिर्तामोड–५ मा रहेको न्युटन्स एजुकेसन विद्यालयले स्वर्गीय हरिकुमार प्रसाईको स्मृतिमा साहित्य लेखन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। न्युटन्स एजुकेसन विद्यालयको सभा हलमा आयोजित कार्यक्रम विद्यालयका निर्देशक आशिष प्रसाईको अध्यक्षता तथा साहित्यकार तथा गजलकार केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
साहित्य लेखन कार्यशाला गोष्ठीमा संस्थागत तथा सामुदायिक विद्यालयका गरी १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन सत्र विद्यालयकी शिक्षिका पवित्र पौडेलले सञ्चालन गर्नुभएको थियो भने दोस्रो चरणकाे कार्यक्रम सञ्चालन लेखक तथा पठन संस्कृति वर्ष २०२६ अभियानका संयोजक तीर्थ सिग्देलले गर्नुभएको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले साहित्य लेखन कार्यशाला गोष्ठीले विद्यार्थीहरूलाई सृजनशील बनाउने र अतिरिक्त लेखन क्षमतामा आफूलाई निखार्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले उपस्थित अतिथिहरू तथा विद्यार्थीहरूलाई स्वागत गर्दै दूरदर्शी व्यक्तित्व संस्थापक स्वर्गीय हरिकुमार प्रसाईले शिक्षाको विशाल वृक्षका रूपमा न्युटन्स एजुकेशन स्थापना गर्न सफल भएकाे उल्लेख गर्दै उहाँले देखाएकाे मार्गमा विद्यालय सदैभ हिडिरहने बताउनुभयाे ।
कार्यक्रमलाई सफल बनाउन पठन संस्कृति वर्ष २०२६ अभियानले सहकार्य गरेको थियो।पठन संस्कृति वर्ष २०२६ का सहसंयोजक तथा लेखक केशव मैनालीले पठन संस्कारको विकास गर्ने उद्देश्यअनुरूप वर्षभरि निजी तथा सामुदायिक विद्यालयसहित सार्वजनिक स्थानहरूमा पठन संस्कृतिसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिँदै लैजाने जानकारी दिनुभयो।
उहाँले न्युटन्स् एजुकेशनले विद्यार्थीहरूलाई पठन संस्कृतिप्रति प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

कार्यक्रमका बीच साहित्यकार तुलसीप्रसाद भट्टराई, जानुका धिमाल, गजलकार तथा वरिष्ठ साहित्यकार केशव आचार्य, गजलकार तथा सञ्चारकर्मी लीला अनमोल, खगेन्द्रा खुसी लगायतले आफ्ना सिर्जना—गजल तथा कवितामार्फत कार्यक्रमलाई थप रौनक प्रदान गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन विद्यालयका निर्देशक आशिष प्रसाई, प्रधानाध्यापक देवेन्द्र हुमागाईं तथा प्रमुख अतिथि गजलकार केशव आचार्यले स्वर्गीय हरिकुमार प्रसाईको तस्बिरमा माल्यार्पण गरी गर्नुभएको थियो।
कार्यशालाअन्तर्गत निबन्ध लेखन सम्बन्धी कार्यशाला लेखक तथा पत्रकार तीर्थ सिग्देलले तथा कविता तथा गजल लेखन सम्बन्धी कार्यशाला गजलकार तथा सञ्चारकर्मी लीला अनमोलले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा शैक्षिक संघ–संस्थाका प्रतिनिधि, साहित्यकार, गजलकार तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट प्रतिनिधित्व गर्दै सहभागी विद्यार्थीहरूले साहित्य लेखन कार्यशाला गोष्ठी अत्यन्तै फलदायी र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।

उनीहरूले यस किसिमका कार्यक्रमहरू पठन संस्कृतिको विकासमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै न्युटन्स एजुकेसन विद्यालयद्वारा आयोजित कार्यक्रम रचनात्मक, प्रेरणादायी र प्रशंसनीय रहेको टिप्पणी गरेका थिए।














