काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आजदेखि नेपाली सेना परिचालन गरिएको छ ।

सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गरिएको हो ।

सुरक्षा योजनाअनुसार भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिनेछन् ।

योजनाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ ।

बाहिरी सुरक्षा घेरामा नेपाली सेनाले सुरक्षा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ ।