नेपाली सांगीतिक आकाशका उज्याला नक्षत्र पवन गोलेसँगको आत्मीय संवादबाट डिजिटल पोडकास्ट ‘साहित्य चौतारीसँग स्रष्टा’ को औपचारिक शुभारम्भ गरिएको छ।
पाँच दशकभन्दा बढी समयदेखि सांगीतिक यात्रामा अनवरत सक्रिय रहँदै पाँच सयभन्दा बढी गीतमा स्वर भरिसक्नुभएका गोलेलाई पहिलो अतिथिका रूपमा प्रस्तुत गर्दै साहित्य चौतारीले आफ्नो नयाँ डिजिटल अभियान सार्वजनिक गरेको हो।
सोमबार बिर्तामोडमा आयोजित विशेष समारोहबीच साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा साहित्य चौतारीका संस्थापक सल्लाहकार तथा प्रख्यात साहित्यकार कृष्ण धरावासी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। अग्रज गायक तथा संगीतकार डा. टीका भण्डारी, कानुन व्यवसायी लीला उदासी र अनिरुद्र ओलीले संयुक्त रूपमा पोडकास्ट उद्घाटन गर्नुभएको थियो।
होटल हिंकोला हेरिटेज प्रालि काँकरभिट्टा शाखाको छैटौँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ‘पर्यटन प्रवर्द्धनमा साहित्य, संगीत र सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया समेत सम्पन्न भयो।

प्रमुख अतिथि धरावासीले डिजिटल माध्यमलाई साहित्यको पुस्तान्तरणको प्रभावकारी साधनका रूपमा व्याख्या गर्दै स्रष्टाका अनुभव र सिर्जनालाई अभिलेखीकरण गर्नु सांस्कृतिक सम्पदा संरक्षण सरह भएको बताउनुभयो।
उहाँले मोफसलका स्रष्टाको आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अभियानका रूपमा पोडकास्टको प्रशंसा गर्नुभयो।
विशिष्ट अतिथि तथा रेडियो नेपालका पूर्व निर्देशक डा. टीका भण्डारीले संगीत पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यम भएको उल्लेख गर्नुभयो।
उहाँले संगीतले छोटो समयमै समाजमा गहिरो प्रभाव पार्ने र संस्कृतिलाई विश्वसामु चिनाउने सामर्थ्य राख्ने बताउँदै युवा पुस्तालाई मौलिकता जोगाउँदै सिर्जनामा लाग्न आग्रह गर्नुभयो।
स्वागत मन्तव्यका क्रममा अध्यक्ष देवीभक्त श्रेष्ठले होटल हिंकोला हेरिटेजमा डेढ करोडभन्दा बढी लगानी गरे पनि केही वर्षदेखि सञ्चालनमा अवरोध हुँदा अन्याय भोग्नुपरेको गुनासो व्यक्त गर्नुभयो।
न्याय ढिलो हुन सक्ने तर असम्भव नहुने विश्वासका साथ वार्षिकोत्सव मनाउँदै आएको उहाँको भनाइ थियो।
कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो भने डिजिटल पोडकास्ट ‘साहित्य चौतारीसँग स्रष्टा’ को पहिलो शृङ्खलाको उद्घाटन डा. टीका भण्डारीले प्रोजेक्टर क्लिक गरी गर्नुभएको थियो।
कार्यक्रमका निर्देशक तथा प्रस्तोता साहित्य चौतारीका प्रेस सल्लाहकार तथा मोफसल अनलाइनका सम्पादक भरत भावुक प्रसाईं रहनुभएको जानकारी दिइएको छ।
उक्त पोडकास्ट अब साहित्य चौतारीको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमार्फत हेर्न र सुन्न सकिनेछ।














