झापा । बिर्तामोड —भरत प्रसाई, फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशभर तीव्र बनेको छ। यही माहोलका बीच उज्यालो उज्यालो पार्टी नेपालले देशव्यापी रूपमा १२१ जना उम्मेदवार घोषणा गर्दै आफूलाई “नयाँ सोच र नयाँ पुस्ताको राजनीतिक शक्ति”का रूपमा प्रस्तुत गरेको छ।

झापाको बिर्तामोडमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सीके बेघा (क्याप्टेन) ले आफ्नो दललाई “ब्रान्डिङ पार्टी” भएको दाबी गर्दै फरक भिजनसहित जनतामाझ आएको बताए।

१८ घण्टे लोडसेडिङ अन्त्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका कुलमान घिसिङको नेतृत्वमा पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले ऊर्जा, सुशासन र प्रविधिमैत्री शासनलाई प्राथमिकतामा राखेको स्पष्ट पारे।

बेघाले पुराना दलहरूले पाँच दशकभन्दा बढी समय सत्ता सञ्चालन गरे पनि आम नागरिकका आधारभूत समस्या ज्यूँका त्यूँ रहेको आरोप लगाए।

“जनताले अब व्यवहारमा परिवर्तन खोजेका छन्,” उनले भने, “हामी त्यही परिवर्तनको संवाहक बनेर आएका छौँ।” घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक साथ र समर्थनको आश्वासन पाएको उनको दाबी छ।

उनले जेन्जी नेतृत्वमा गठित राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीबीच एकीकरण भई संयुक्त रूपमा निर्वाचनमा होमिएको जानकारी दिए।

एकीकरणपछि उज्यालो नेपालबाट १०५ र राष्ट्रिय परिवर्तनबाट १६ गरी १२१ उम्मेदवार मैदानमा उत्रिएको उनले बताए। कोशी प्रदेशबाट मात्रै ११ जना उम्मेदवार रहेको उनको भनाइ छ।

“मेरो उम्मेदवारी सुशासन, अनुशासित र सुसंस्कृत राज्य प्रणालीका लागि हो,” बेघाले जोड दिए। आफू राजनीतिक रूपमा नयाँ भए पनि इमान्दारिता, निष्ठा र देशप्रतिको प्रतिबद्धता बलियो रहेको उनले उल्लेख गरे।

विगत ३५ वर्ष भारतीय लाहुरेका रूपमा सेवा गरेको अनुभव सुनाउँदै उनले अनुशासन, सामाजिक दायित्व र जवाफदेहिताको महत्व राम्रोसँग बुझेको दाबी गरे।

कार्यक्रममा पार्टीका पदमबहादुर तामाङ, रमेश तामाङ तथा प्रदेश सदस्य शर्मिला आङदाङ्बे लगायतको उपस्थिति रहेको थियो।

पत्रकारका जिज्ञासामा उनले निर्वाचन आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्धता व्यक्त गर्दै फागुन ४ गतेदेखि घोषणापत्रसहित घरदैलो कार्यक्रम सुरु गर्ने जानकारी दिए।

युवा नेतृत्वको क्षमतामाथि उठेका प्रश्नबारे उनले भने, “युग परिवर्तन भइसकेको छ, यो प्रविधिको युग हो। युवाहरू धेरै क्षेत्रमा दक्ष भइसकेका छन्। अब देश युवाले हाँक्नुपर्छ। अग्रज पुस्ताको अनुभव र युवाको ऊर्जा मिलेर मात्रै राजनीतिक अन्धकार हटाउन सकिन्छ।”

बेघाले झापाली मतदाताले परिवर्तनका लागि एकपटक उज्यालो नेपाल पार्टीलाई अवसर दिनेमा आफू विश्वस्त रहेको बताए।

चुनावी मैदानमा नयाँ शक्ति र नयाँ पुस्ताको दाबी गर्दै ‘उज्यालो’ अभियानले झापाको राजनीतिक बहसलाई थप रोचक बनाएको छ।