काठमाडौँ – आज फेब्रुअरी १४, विश्वभर प्रेम र आत्मीयताको प्रतीकका रूपमा मनाइने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले यस दिनलाई प्रेम सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा लिँदै आएका छन् । पछिल्ला वर्षहरूमा नेपालमा पनि यस दिवसको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । शहरदेखि गाउँसम्म यसको चर्चा र तयारी देख्न सकिन्छ  । 

भ्यालेन्टाइन डे को सुरुआत सन् २६९ तिर इटालीको रोमन साम्राज्यबाट भएको मानिन्छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिकहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमी–प्रेमिकाको गोप्य विवाह गराइदिएको किंवदन्ती छ । यसै कारण उनलाई मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि दिएको बलिदानको सम्मानस्वरूप फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।

पश्चिमी संस्कृतिबाट प्रभावित यो दिवस पछिल्ला वर्षहरूमा नेपालमा व्यापक रूपमा मनाइँदै आएको छ । सामाजिक सञ्जाल, अनलाइन किनमेल र डिजिटल प्रविधिको पहुँच विस्तारसँगै यसको प्रभाव झन् बढेको देखिन्छ । रेस्टुरेन्ट, क्याफे, होटल तथा गिफ्ट सपहरूमा विशेष अफर र कार्यक्रम आयोजना गरिन्छन् ।

प्रणय दिवसका अवसरमा विशेषगरी रातो गुलाफको माग अत्यधिक हुने गरेको छ । व्यवसायीहरूको अनुमान अनुसार नेपालमा यो साता झन्डै साढे चार लाख स्टिक गुलाफ फूलको कारोबार हुने गरेको छ ।

Floriculture Association Nepal (फ्यान) का अनुसार मागको करिब ३० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धान्ने गरेको छ भने बाँकी ७० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपर्छ । फ्यानका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठका अनुसार प्रत्येक वर्ष गुलाफको माग बढ्दो क्रममा रहेको छ ।

भ्यालेन्टाइन डे एक दिन मात्रै होइन, सप्ताहभर विभिन्न ‘डे’ हरू मनाउने चलन छ । रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रॉमिस डे, हग डे, किस डे हुँदै फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ ।

यस अवसरमा युवा पुस्ता मात्रै होइन, विवाहित जोडीहरूले पनि एकअर्काप्रति प्रेम र सम्मान व्यक्त गर्ने अवसरका रूपमा यो दिनलाई लिने गरेका छन् ।

नेपालमा भ्यालेन्टाइन डे मनाउने विषयमा समर्थन र विरोध दुवै धारणा पाइन्छन् । कतिपयले यसलाई पश्चिमी संस्कृतिको प्रभाव भन्दै आलोचना गर्छन् भने धेरैले प्रेम र सकारात्मक भावना साटासाट गर्ने अवसरका रूपमा स्वीकार गरेका छन् ।

यद्यपि, पछिल्ला वर्षहरूमा यो दिवसले नेपालमा व्यापार, पर्यटन र आतिथ्य क्षेत्रमा सकारात्मक आर्थिक गतिविधि बढाएको देखिन्छ ।

 प्रणय दिवस नेपालमा सांस्कृतिक बहससँगै आर्थिक अवसरका रूपमा स्थापित हुँदै गएको छ । प्रेम, सम्मान र सद्भाव साटासाट गर्ने सन्देश बोकेको यो दिवस हरेक वर्ष थप व्यापक बन्दै गएको छ ।