पवन ढकाल ,झापा, बुद्धशान्ति — कर्णाली एजुकेसन फाउन्डेसन को २८औँ वार्षिक उत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको दुई दिवसीय कार्यक्रम आज विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित समापन गरिएको हो।

“संस्कारसहितको शिक्षा” भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको विद्यालयले यस वर्ष पनि आकर्षक र व्यवस्थित ढंगले वार्षिक उत्सव आयोजना गरेको छ।
उत्सवको पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य तथा गायन प्रस्तुत गरी उपस्थित अभिभावकहरूको मन जितेका थिए। सोही अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
दोस्रो दिन विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम, अभिभावक तथा शिक्षक सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। विद्यार्थीहरूले नाटक, नृत्य, गायन, कवितावाचन तथा वक्तृत्वकला प्रस्तुत गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
विद्यालयको खेल मैदान भित्रको पन्डालमा खचाखच भरिएका अतिथि एवं अभिभावकहरु नानीबाबुहरूको प्रतिभा प्रत्यक्ष अवलोकन गर्न पाउँदा अत्यन्तै हर्षित देखिन्थे।
विद्यार्थीहरूले नृत्य, गीत, भाषण, नाटक, सांस्कृतिक झाँकी लगायत विविध प्रतिभाहरू प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए। साना बालबालिकादेखि उच्च कक्षासम्मका विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
कार्यक्रमको अवसरमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरू, समर्पित शिक्षक-शिक्षिका तथा सहयोगी अभिभावकहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। नेपाल सरकारको नियमानुसार प्रदान गरिने छात्रवृत्तिसँगै प्रत्येक कक्षाका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। यस वर्ष विद्यालयले कुल रु. २,८२,२४० (दुई लाख बयासी हजार दुई सय चालिस रुपैयाँ) नगद पुरस्कार वितरण गरी विद्यार्थीहरूको हौसला अभिवृद्धि गरेको छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर अझ सुदृढ गर्दै स्मार्ट कक्षा विस्तार, विज्ञान तथा गणित प्रयोगशाला सुदृढीकरण, खेलमैदान व्यवस्थापन तथा जीवनोपयोगी सीपमूलक तालिमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
वार्षिक उत्सवको अवसरमा पूर्व विद्यार्थी मनिषा कोइराला र सदिक्षा लिम्बू, अभिभावक अञ्जना घतानी र लेखनाथ पौडेल तथा शिक्षक रञ्जु गौतम, अशोक क्षेत्री, पुनम राई र नहिम अलीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। विद्यार्थीहरूलाई यहाँसम्म पुर्याउन अभिभावक र शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यालयले सम्मान प्रदान गरेको जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको आतिथ्यता रहेको थियो। शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। पेप्सन झापाका अध्यक्ष पनि रहनुभएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक छत्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति अध्यक्ष नवीन बिमली, प्याप्सन झापा उपाध्यक्ष हरिकृष्ण पाठक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षासेवी, समाजसेवी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा पूर्व प्राचार्य गङ्गाराम घर्तौलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम शिक्षक सीताराम भट्टराई तथा विद्यार्थी अनुरोध काफ्ले र ग्रेसिका राईले संयुक्त रूपमा सञ्चालन गरेका थिए।
पेप्सन झापा अन्तरगतका बिधालयहरु, बुद्धशान्ति भित्रका सस्थागत तथा सामुदायिक बिद्यालय हरु मध्ये विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप हरुमा उत्कृष्ट हुदै आएको कर्णाली एजुकेसन बुद्धशान्तिको मात्रै नभएर इलाम रोङ गाउँपालिकाका तल्लो भेगमा समेत शिक्षाको क्षेत्रमा स्थापित बिद्यालय हो ।

कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी तथा सहयोगीहरूप्रति कार्यक्रमका अध्यक्ष कार्कीले बिशेश धन्यवाद ज्ञापन गर्नुभएको छ।














