झापा, फागुन १४ — आगामी फागुन २१ मा सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै झापामा ‘५ बुँदे किताब खोई’ अभियान सुरु गरिएको छ। पठन संस्कृतिको विकासलाई राजनीतिक प्रतिबद्धतासँग जोड्ने उद्देश्यले अभियानले उम्मेदवारहरूलाई आफ्नो घोषणापत्रमा पुस्तक र पुस्तकालयसम्बन्धी एजेण्डा अनिवार्य रूपमा समेट्न दबाब दिने जनाएको छ।

अभियानका संयोजक तीर्थ सिग्देलका अनुसार झापाका १०० भन्दा बढी संघ–संस्थाको सहभागितामा ‘पठन संस्कृति वर्ष २०२६’ मनाइँदैछ। उनले निर्वाचनका बेला सार्वजनिक गरिने घोषणापत्रमा पुस्तकालय स्थापना, पुस्तक खरिदका लागि बजेट विनियोजन तथा शैक्षिक पूर्वाधार विकासका स्पष्ट प्रतिबद्धता नदेखिए अभियानले त्यसलाई सार्वजनिक रूपमा प्रश्न गर्ने बताए।
“पढौँ, अघि बढौँ भन्ने मूल उद्देश्यसहित सुरु गरिएको यो अभियानले पठन संस्कृतिलाई नीतिगत प्राथमिकतामा राख्न दबाब दिन्छ,” सिग्देलले भने।
सह–संयोजक केशव मैनालीले उम्मेदवारहरूले घरदैलोमा व्यक्त गर्ने वाचा र घोषणापत्रमा उल्लेख गरिएका एजेण्डाबीचको अन्तरलाई बौद्धिक समुदायले नजिकबाट नियालिरहेको उल्लेख गरे। उनका अनुसार पठन संस्कृतिसम्बन्धी विषयलाई कति गम्भीरतापूर्वक लिइएको छ भन्ने आधारमा उम्मेदवारको प्रतिबद्धता मूल्याङ्कन गरिनेछ।
अभियानले प्रत्येक वडामा सार्वजनिक पुस्तकालय स्थापना वा सञ्चालनका लागि बजेट सुनिश्चित गर्नुपर्ने, सरकारी तथा गैरसरकारी संस्थामा मिनी लाइब्रेरी स्थापना गर्न पहल गर्नुपर्ने, विद्यालयहरूमा पुस्तकका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने, सार्वजनिक कार्यक्रमहरूमा पुस्तकलाई सम्मानको प्रतीकका रूपमा प्रवर्द्धन गर्नुपर्ने तथा सार्वजनिक स्थलमा कार्यक्रम हलसहितको पुस्तकालय र पार्क निर्माण गर्नुपर्ने माग अघि सारेको छ।

पठन अभियन्ता सन्तोष आचार्यले झापाबाट उम्मेदवार बनेकाहरूलाई प्रत्यक्ष भेटेर अभियानबारे जानकारी गराइने र घोषणापत्रमा पुस्तक एजेण्डा समावेश गर्न लिखित प्रतिबद्धता मागिने बताए। उनका अनुसार निर्वाचन परिणाम जे आए पनि पठन संस्कृतिको विषयलाई सार्वजनिक बहसको केन्द्रमा राखिनेछ।
अभियानले निर्वाचनलाई दीर्घकालीन शैक्षिक र बौद्धिक विकासको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै पुस्तक र पुस्तकालयलाई स्थानीय विकास नीतिको अनिवार्य अङ्ग बनाउन राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसँग आग्रह गरेको छ।














