दमक, ४ फागुननेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज दिनभर दमक नगरपालिकाका विभिन्न मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुँदै व्यस्त रहनुभएको छ।

निर्वाचन प्रचार–उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय भएको छ। बिहान ११ बजे दमक–५ को यलम्बर चौकबाट सुरु भएको भेटघाट कार्यक्रम ११:५० बजे दमक–६ स्थित शंखधर चौकमा जारी रहनेछ।

त्यसैगरी, दिउँसो १ बजे दमक–७ को तविन चौकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ भने २ बजे दमक–१ स्थित हावल्दार चौकमा स्थानीयसँग भेटघाट गर्ने तालिका छ। अपराह्न ३ बजे दमक–२ को दमक फन पार्कमा आयोजना गरिने कार्यक्रममा सहभागी भई ४ बजे दमक–३ को आमचोकमा स्थानीयसँग अन्तिम भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

kp-oli-_9yHidXWMdP

झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका अन्य पालिकामा समेत भेटघाट कार्यक्रम सम्पन्न गरिसक्नुभएका अध्यक्ष ओलीले आज दमकका विभिन्न स्थानमा पुगेर स्थानीयका समस्या, गुनासा र सुझाव सुन्ने तथा सम्बोधनका लागि पहल गर्ने योजना रहेको जनाइएको छ।

स्थानीय बासिन्दाले आफ्नै चौकमा आएर संवाद गरेकोमा उत्साह व्यक्त गर्दै अध्यक्ष ओलीप्रति आशा र भरोसा राखेको बताएका छन्। अध्यक्ष ओली हिजो झापा आइपुग्नुभएपछि निरन्तर रूपमा विभिन्न कार्यक्रम तथा भेटघाटमा सक्रिय रहनुभएको छ।