बिर्तामोड, झापा — झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका **डाक्टर युवराज संग्रौला**ले घरदैलो अभियानका क्रममा झापाली मतदाता र समाजको वास्तविकता नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।
देशभक्त स्वतन्त्र नागरिक समाजले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूले उठाएका मुद्दा जनताको मनसँग मेल खाएको दाबी गर्दै जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
उनले नेपालमै पर्याप्त पूँजी र सम्भावना हुँदाहुँदै पुराना राजनीतिक दलहरूको नीतिका कारण देश आर्थिक रूपमा कमजोर बनेको टिप्पणी गरे।
औद्योगिकीकरणलाई प्राथमिकता दिँदै नयाँ उद्योगीलाई प्रोत्साहन गर्ने र उद्योगी–व्यवसायीलाई राहत दिने खालको ‘औद्योगिक प्राधिकरण ऐन’ संसदमा दर्ता गर्ने प्रतिबद्धता उनले दोहोर्याए।
झापा–२ लाई ‘उद्योग गाउँ’का रूपमा विकास गर्ने योजना सुनाउँदै संग्रौलाले रोजगारी सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिए। साथै, आदिवासी, जनजाति तथा विपन्न समुदायका विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालन गरी निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा पनि गरे।
“म पदका लागि होइन, नागरिक सर्वोच्चताको मुद्दाका लागि चुनावमा आएको हुँ,” उनले भने, “बौद्धिकहरू राजनीतिमा आए मात्र देश समृद्ध हुन्छ।” आफ्नो हार सम्पूर्ण बौद्धिक वर्गको हार हुने तर्क गर्दै उनले झापा–२ का मतदातालाई परिवर्तनका पक्षमा उभिन आह्वान गरे।














