द्रपुर, झापा | भरत प्रसाई

फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापामा चुनावी माहोल थप तातेको छ।

झापा क्षेत्र नम्बर ५ मा हुने भनिएको प्रतिस्पर्धाले विशेष चासो बढाएको छ भने नेकपा एमालेले जिल्लाका पाँचै क्षेत्रमा विजय हासिल गर्ने लक्ष्यसहित चुनावी गतिविधि तीव्र बनाएको जनाएको छ।

IMG_8328 - Copy

आज आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीका उम्मेदवारलाई जनताको घरदैलोमा सक्रिय रूपमा पुग्न निर्देशन दिनुभयो। निर्वाचन मिति नजिकिँदै गर्दा पार्टीका मूल एजेन्डासहित मतदातामाझ जान उहाँले आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको प्रसंग उठाउँदै लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्नुभयो। साथै, सामाजिक सञ्जालको दुरुपयोग गरी पुरानो र स्पष्ट भिजन बोकेको पार्टीलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप पनि लगाउनुभयो। उहाँले अन्य नयाँ दलतर्फ संकेत गर्दै अनावश्यक उत्तेजना नदेखाउन आग्रह गर्नुभयो।

छलफलका क्रममा अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार हरिबहादुर राजवंशी तथा समानुपातिकतर्फका उम्मेदवार जीतु गौतमलाई अत्यधिक मतान्तरले विजयी गराउन नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो। कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

IMG_8315

यसैबीच, झापा क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीले आफू अत्यधिक मतान्तरले विजयी हुने दाबी गर्नुभयो। उहाँले प्रचार–प्रसारमा खटिएका सम्पूर्ण नेता–कार्यकर्ता तथा नेकपा एमालेलाई समर्थन गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै समृद्धिको स्पष्ट एजेन्डा नेकपा एमालेसँग मात्रै रहेको बताउनु भयाे । 

उहाँले पार्टीविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको सुनिएको उल्लेख गर्दै घरदैलो अभियानका क्रममा मतदातालाई तथ्यपरक जानकारी दिन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन क्षेत्रीय निर्वाचन परिचालन समितिका सचिव नरेश चुडालले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले झापा जिल्ला कमिटीका पदाधिकारी, निर्वाचन परिचालन समितिका प्रतिनिधि तथा एमालेनिकट भ्रातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


IMG_8299

निर्वाचन परिचालन समितिका संयोजकहरूले अध्यक्ष ओलीसँग छलफल गर्दै हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए।

छलफलमा सहभागी उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा जनमत नरहेको दाबी गर्दै मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्।