काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि भन्दै सिंगापुर प्रस्थान गरेका छन् । देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका हुन् । फागुन २१ को निर्वाचन सम्मुखमै देउवा सिंगापुर उड्नुलाई आश्चार्यको रुपमा लिइएको छ, भने उनको सिंगापुर प्रस्थानले आगामी निर्वाचनमा काँग्रेसको मतपरिणाममै प्रत्यक्ष प्रभाव पर्ने विश्लेषण हुन थालेका छन् ।
पछिल्लो समय देउवा पार्टी राजनीति र संसदीय राजनीतिको होडमा छैनन् । काँग्रेसको गगन थापा पक्षधरले एक महिनाअघि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेर देउवालाई नेतृत्वबाट पाखा लगाएको थियो । जुन विशेष महाधिवेशन वैशाखमा नियमित महाधिवेशन गर्ने भन्ने देउवको प्रस्ताव विपरित थियो । विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा काँग्रेस चुनावी मैदानमा उत्रिएको छ । यो अवस्थामा देउवा भने सुटुक्क सिंगापुर उडेका हुन् ।
देउवाको सचिवालयले भने उनमा एक्कासी ब्लड प्रेसर बढेका कारण थप उपचारका लागि सिंगापुर जानु परेको बताएको छ । हुनत देउवा विगतमा पनि उपचारका लागि सिंगापुर जाने गरेका छन् । जेनजी आन्दोलनमा घाइते भएका देउवा र पत्नी आरजुको सिंगापुरमै उपचार भएको थियो । तर पनि देउवाको सिगापुर उडानलाई निर्वाचन छल्ने रणनीतिको रुपमा चर्चा भइरहेका छन् ।
देउवा एक्कासी सिंगापुर उडेपनि उनी चार दिनको उपचार पछि नै फर्किने उनको सचिवालयले जनाएको छ । यद्यपि देउवा यति चाँडै नै फर्किन्छन् भन्ने टुंगो छैन । किनकी देउवाले यअसघि देखि नै निर्वाचनप्रति खासै चासो देखाएका छैनन् । उनी अहिलेसम्म काँग्रेसको उम्मेदवार जिताउन पनि खुलेका छैनन् । उनले आगामी निर्वाचनमा मतदान नगर्ने भन्दै गृहजिल्लासँग पनि सम्पर्कसमेत टुटाएको जनाइएको छ । यसलाई कतिपयले देउवा चुनावको अघोषित बहिस्कारमा रहेको व्याख्या गरिरहेका छन्।














