झापा । भरत प्रसाई,  झापा क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातेका बेला सरीता प्रसाईं ले आफूले मतदाताको मन जितिसकेको दाबी गर्दै अब मत परिणाम पनि आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेकी छन्।


घरदैलो अभियानलाई तीव्र बनाउँदै टोल–टोलमा पुगिरहेकी प्रसाईंले जनताको आवश्यकता, स्थानीय सम्भावना र विकासका अधुरा कामलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएकी छन्।

नेपाली काँग्रेस की तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेकी प्रसाईंले झापा–२ को विकासलाई नयाँ ढंगले अघि बढाउने बताइन्। उनले कृषिप्रधान क्षेत्र भएकाले किसानको उत्पादनले उचित मूल्य नपाएको समस्या समाधान गर्न बजार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरिन्।

सहकारी सुदृढीकरण, भण्डारण तथा चिस्यान केन्द्र स्थापना र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने योजना आफ्नो कार्यसूचीमा रहेको उनको भनाइ छ।

प्रसाईंले शिक्षा क्षेत्रमा सुधार नगरी दीर्घकालीन विकास सम्भव नहुने बताउँदै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, डिजिटल कक्षा सञ्चालन गर्ने र प्राविधिक शिक्षालाई विस्तार गर्ने योजना सार्वजनिक गरिन्। स्वास्थ्य सेवाको पहुँच अझै पनि सबै नागरिकसम्म नपुगेको उल्लेख गर्दै उनले आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य चौकी स्तरोन्नति र महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गरिने बताइन्।

महिला सशक्तीकरणलाई आफ्नो अभियानको मूल आधार बनाएकी प्रसाईंले महिलाले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। महिला उद्यमीलाई तालिम, सहुलियत कर्जा र बजार व्यवस्थापनमा सहयोग गरिने उनको भनाइ छ। साथै दलित, विपन्न तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याइने उनले बताइन्।

पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, खानेपानी विस्तार र ऊर्जा पहुँच वृद्धि गर्ने योजना रहेको उनले स्पष्ट पारिन्। फोहोर व्यवस्थापनलाई व्यवस्थित र वातावरणमैत्री बनाउने, अव्यवस्थित सुकुम्बासी समस्याको समाधान खोज्ने तथा दीगो शहरी व्यवस्थापनमा जोड दिने उनले प्रतिबद्धता जनाइन्। सुशासन कायम गर्दै भ्रष्टाचारविरुद्ध कडा अडान लिने उनले दोहोर्‍याइन्। “जनताको विश्वास नै मेरो पूँजी हो, म कहिल्यै भ्रष्टाचार गर्ने छैन,” प्रसाईंले भनिन्।

चुनावी कार्यक्रममा पार्टीका नेताहरूले समेत झापा–२ मा काँग्रेस एकढिक्का भएर अघि बढेको बताएका छन्। कार्यक्रममा सुधिरकुमार शिवाकोटी, उद्धव थापाकृष्ण हुमागाईले प्रसाईंलाई विजयी गराउन सबै कार्यकर्ता परिचालित भएको बताए।

समानुपातिकतर्फका उम्मेदवार उमा शिवाकोटीमनमाया विश्वकर्मा लाई पनि समर्थन गर्न आह्वान गरिएको थियो। कार्यक्रमको सहजीकरण निर्वाचन परिचालन समिति संयोजक खगेन्द्र मैनाली ले गरेका थिए।

घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको प्रसाईंको भनाइ छ। उनले झापा–२ का नागरिकको हकअधिकारका लागि निरन्तर आवाज उठाउने र विकास तथा सुशासनलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वासको मत दिन अपिल गरेकी छन्।