झापा — नेपाल मुस्लिम नागरिक समाजको केन्द्रीय समितिले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न राजनीतिक दलका १५ जना उम्मेदवारलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ।
झापा गाउँपालिका–४ स्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत समाजका दिवंगत केन्द्रीय अध्यक्ष मसुरिद्धिन अन्सारीका माइला छोरा सद्धाम अन्सारीले उक्त निर्णय घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै सद्धाम अन्सारीले मुस्लिम समुदायको हकहित, अधिकार, शिक्षा, रोजगारी तथा राष्ट्रिय एकताको पक्षमा स्पष्ट प्रतिबद्धता जनाएका उम्मेदवारहरूलाई समर्थन गरिएको बताए। उनले समुदायका सम्पूर्ण सदस्यहरूलाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै समर्थित उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे। उनका अनुसार समाजले कुनै एक दल विशेषलाई नभई विभिन्न दलमा रहेर पनि मुस्लिम अधिकार, धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावका मुद्दा उठाउँदै आएका व्यक्तित्वहरूलाई प्राथमिकता दिएको हो।

समर्थन गरिएका उम्मेदवारहरूमा झापा–५ बाट केपी शर्मा ओली, झापा–३ बाट राजेन्द्र लिङदेन, रौतहटबाट फिरध्वज आलम, सर्लाहीबाट रिजवान अन्सारी र रहबर अन्सारी, सरदसिंह भण्डारी, मात्रिका यादव, चितवनबाट रेणु दाहाल, सुनसरीका जाकिर हुसेन, उपेन्द्र यादव, रौतहटका प्रभु साह लगायत रहेका छन्। साथै झापा–४ का लालप्रसाद साँवा, झापा–२ की धर्मशीला चापागाईं, नागरिक उन्मुक्ति पार्टीका अब्दुल खान र समिम अन्सारीलाई समेत समर्थन गरिएको जानकारी दिइएको छ।
सद्धाम अन्सारीले आफ्नो वक्तव्यका क्रममा दिवंगत पिता मसुरिद्धिन अन्सारीको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको अधिकार र पहिचानका लागि उनले जीवनभर संघर्ष गरेको उल्लेख गरे। तीन वर्षसम्म मृगौला रोगबाट पीडित भई डायलाइसिस गराउँदै आएका मसुरिद्धिन अन्सारीको २०७४ सालमा निधन भएको थियो। उनी मुस्लिम अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका अगुवा नेताका रूपमा परिचित थिए।
अन्सारीले भने, “हामीले बुबाको अधूरो अभियानलाई निरन्तरता दिँदै मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न र राष्ट्रिय एकता मजबुत बनाउन पहल गरिरहेका छौं। निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार हो, त्यसैले समुदायले सचेत र जिम्मेवार भएर मतदान गर्नुपर्छ।”
नेपाल मुस्लिम नागरिक समाजले विगत केही वर्षयता तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव, शिक्षा प्रवर्द्धन, नागरिक अधिकार सचेतना र अन्तरसमुदायिक संवादका कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरिएको छ। संगठनले देशको सार्वभौमिकता, अखण्डता र आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले विभिन्न अभियान अघि बढाएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो।

यसैबीच, निर्वाचन सम्पन्न भएपछि समाजको नयाँ कार्यसमिति चयन गर्ने तयारीसमेत थालिने बताइएको छ। संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना रहेको सद्धाम अन्सारीले जानकारी दिए।
नेपाल मुस्लिम नागरिक समाजको यो समर्थन घोषणालाई तराई–मधेश क्षेत्रमा राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ। बहुदलीय उम्मेदवारहरूलाई एकसाथ समर्थन गर्ने निर्णयले समुदायको मुद्दा केन्द्रित राजनीतिलाई प्राथमिकता दिएको संकेत गरेको विश्लेषण गरिएको छ। अब आगामी निर्वाचनमा यस समर्थनको प्रभाव कत्तिको देखिनेछ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ।














