बिर्तामोड, झापासाहित्य चौतारी विर्तामोड झापा नेपालको आयोजनामा नियात्राकार गणेश निरौलाको कृति ‘कनाटा कैरन’ माथि बिर्तामोडमा विशेष चर्चा–परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक निरौलाले स्वागत मन्तव्यसहित कृतिको रचनागर्भबारे प्रकाश पारे। उनले आफ्नो पहिलो कविता सङ्ग्रह ‘कोठेबारी, ढुङ्गा र माटो’पछि दोस्रो कृतिका रूपमा ‘कनाटा कैरन’ बजारमा ल्याएको जानकारी दिए।

IMG_9629

निरौलाले क्यानडामा करिब ६ महिनाको बसाइका क्रममा देखेका–भोगेका अनुभवलाई यथार्थपरक ढंगले नियात्रामा उतारेको बताए। पश्चिमी मुलुकका पुस्तकालयहरूको संरचना, व्यवस्थापन तथा लेखक–कलाकारका सृजनामाथि उनीहरूको सार्वभौमिक अधिकार कसरी सुरक्षित गरिन्छ भन्ने विषयलाई कृतिमा समेटिएको उनको भनाइ थियो।

कार्यक्रममा अग्रज साहित्यकार कृष्ण धरावासी, आख्यानकार पुण्यप्रसाद खरेल तथा साहित्यकार नमूना निरौला दाहालले कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै ‘कनाटा कैरन’ पाठकका लागि विश्वविद्यालय सरह रहेको धारणा राखे। उनीहरूले सरल र सबैले बुझ्ने भाषाशैलीका कारण कृति पाठकमैत्री बनेको बताए।

१९ वटा लेख (प्राक्कथनसहित) समेटिएको उक्त नियात्रा ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण रहेको समीक्षकहरूको निष्कर्ष थियो।

अन्य नियात्राभन्दा फरक स्वाद र प्रस्तुति रहेको उल्लेख गर्दै उनीहरूले लेखकले पाठकलाई निरन्तर पढिरहन प्रेरित गर्ने शैली अपनाएको जनाए।

अध्यक्ष श्रेष्ठले साहित्य चौतारीले निरन्तर रूपमा स्रष्टाहरूका कृति लोकार्पण तथा साहित्यिक विमर्श कार्यक्रम गर्दै आएको बताउँदै सहभागी समीक्षक, अतिथि र सहयोगी सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा विभिन्न साहित्यकार तथा स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।