वीरता जेसीजको आयोजनामा शाखाका पदाधिकारी तथा नयाँ सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “लोम अफिसर एण्ड प्री–इन्डक्सन तालिम” सम्पन्न भएको छ। “Together We Can” भन्ने थिमलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त तालिमले नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण तथा समाजप्रति जिम्मेवार युवाशक्ति तयार पार्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापाले जेसीज अभियानले युवाहरूलाई नेतृत्व र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले “Together We Can” को भावनालाई व्यवहारमा उतार्दै सामूहिक प्रयासबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो।
तालिमका प्रशिक्षक वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरीले लोम अफिसरहरूको भूमिका, जिम्मेवारी, नेतृत्व विकास, कार्यक्रम व्यवस्थापन तथा जेसीजको सिद्धान्त र मूल्यबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो। उहाँले सक्षम नेतृत्व र समन्वयबाट संगठनलाई अझ प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका संयोजक जेसी सुभम सोनी रहनुभएको थियो भने आस्था जनसम्पर्क अधिकारी अजय चौधरीको सक्रिय भूमिका रहेको थियो। कार्यक्रममा वीरता जुनियरका अध्यक्ष साहिल ढकाल लगायत शाखाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वीरता जेसीजका अध्यक्ष लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुभाष तिखत्रीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले तालिम अत्यन्तै उपयोगी, प्रेरणादायी तथा आगामी दिनमा शाखाले सञ्चालन गर्ने कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन सहयोगी हुने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार यस प्रकारका तालिमहरूले शाखाका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत गतिविधिलाई अझ सशक्त बनाउने र “Together We Can” को भावनाअनुसार सामूहिक प्रयासबाट समाजमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।














