झापा, – झापा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेले आसन्न निर्वाचन शान्त, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आह्वान गरेका छन्। उनले मतदानको घडी नजिकिँदै गर्दा मतदातालाई राष्ट्रिय स्वाधीनता, स्थिरता र समृद्धिका पक्षमा उभिन आग्रह गरे।
घिमिरेले साेमबार पत्रकारहरूसँग कुराकानी गर्दै वर्तमान जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा देशको सार्वभौमसत्तामाथि विभिन्न किसिमका चुनौती देखिएको उल्लेख गरे। उनले यस्तो अवस्थामा नेकपा (एमाले) दृढ राष्ट्रवादी अडानसहित उभिएको दाबी गरे।
उनका अनुसार एमाले नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्न अझै दृढ इच्छाशक्ति र स्पष्ट बहुमत आवश्यक छ।
उनले राजनीतिक दललाई उमेरका आधारमा ‘पुरानो’ वा ‘नयाँ’ भन्दै वर्गीकरण गर्नु अपरिपक्व सोच भएको टिप्पणी गर्दै एमाले समयानुकूल रूपमा अद्यावधिक र गतिशील पार्टी भएको बताए।
घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा–२ मा करिब साढे पाँच अर्ब रुपैयाँ बजेट भित्र्याएर पूर्वाधार विकासको आधार तयार पारेको बताए। उनका अनुसार क्षेत्रका ९० प्रतिशत सडक पक्की बनाउने, बिर्तामोड बजारको ढल व्यवस्थापन, कृषि आधुनिकीकरण, सुपारी र दुग्ध उत्पादनको बजारीकरण तथा मासु प्रशोधन उद्योग स्थापना प्राथमिकतामा छन्।

उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने, अड्किएका कानुन (शिक्षा ऐन, निजामती ऐन, भूमि सम्बन्धी ऐन) टुंग्याउने तथा स्थानीय विवाद समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए।
अर्जुनधारा क्षेत्रको नेपाली सेनाको तालिम केन्द्र र स्थानीय जग्गा दोहोरो स्वामित्व विवाद समाधान गर्ने तथा खोलाको तटबन्ध र करिडोर निर्माण योजना अघि बढाउने उनको भनाइ छ।
गत फागुन २३ र २४ गतेका घटनापछि केही मतदातामा त्रास देखिएको उल्लेख गर्दै घिमिरेले मतदातालाई निडर भएर मतदानमा सहभागी हुन आग्रह गरे। “यो चुनाव जलाउने र बचाउनेबीचको हो,” उनले भने, “जनताले भय त्यागेर लोकतान्त्रिक अधिकार प्रयोग गर्नुपर्छ।”
उनले विपक्षी उम्मेदवारले आफूविरुद्ध ‘नमरीकन समवेदना पत्र पठाएको’ भन्ने आरोप लगाएको विषयलाई असत्य र घृणित राजनीति भएको दाबी गरे।
आफ्नो तीन वर्षे कार्यकालमा झापा–२ मा करिब साढे पाँच अर्ब रुपैयाँ बजेट भित्र्याएको उल्लेख गर्दै घिमिरेले त्यसबाट विभिन्न पूर्वाधार योजनाको आधार तयार भएको बताए।
उनका अनुसार आगामी कार्यकालमा क्षेत्रका कम्तीमा ९० प्रतिशत सडक पक्की बनाउने लक्ष्य राखिएको छ। बिर्तामोड बजारको ढल व्यवस्थापन गरी व्यवस्थित र स्वच्छ सहर बनाउने योजना पनि प्राथमिकतामा रहेको उनले जानकारी दिए।
कृषि क्षेत्रमा आधुनिकीकरण र व्यावसायीकरणमार्फत युवालाई आकर्षित गर्ने योजना अघि सार्दै उनले सुपारी, दुग्ध, मासु र माछा उत्पादनलाई व्यवस्थित गरी बजारीकरणमा जोड दिने बताए।
“यहाँ उत्पादित सुपारीलाई व्यवस्थित गरी निर्यातमुखी बनाउनुपर्छ। दूध र मासुजन्य उत्पादनको प्रशोधन उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न सकिन्छ,” उनले भने।
घिमिरेले २०८२ फागुन २१ गते हुने मतदानमा प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। उनले आफू व्यक्तिगत लाभका लागि नभई अधुरा प्रतिबद्धता पूरा गर्न चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।
“मैले पाँच दशक लामो राजनीतिक जीवनमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेको छु,” उनले भने, “झापा–२ को समग्र विकास र स्थिर नेतृत्वका लागि एमालेको जित आवश्यक छ।”
पत्रकार सम्मेलनमा कृषि र पर्यटनको ठूलो सम्भावना बोकेको भए पनि क्षेत्र ओझेलमा परेको मतदाताको गुनासो एमालेले सम्बोधन गर्दै जाने घिमिरेले बताए ।
प्रेस चौतारीले समन्वय गरेको पत्रकार सम्मेलनमा निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्की, बिर्तामोड नगरापालिकाकी नगर प्रमुख, पवित्रा महतारा प्रसाई नेकपा एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराई लगायत परिचालन समितिका पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
निर्वाचन नजिकिँदै गर्दा झापा–२ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सुरक्षा सतर्कता बढाइएको छ भने राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।














