तोकिएको मिति २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन देशभर हुँदैछ।
निर्वाचन निर्धारित समयमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने आशंकाका बीच सरकारले सुरक्षा तयारी पूर्ण भएको जनाएको छ।
गृह प्रशासनका अनुसार ७७ वटै जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू परिचालन भइसकेका छन् र नियमित गस्ती, निगरानी तथा सुरक्षा समन्वय जारी छ।
निर्वाचन सुरक्षाका लागि नेपाल आर्मी ,नेपाल पुलिस , शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, का जनशक्ति देशभर परिचालन गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार सुरक्षा व्यवस्थापन भइरहेको बताइएको छ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले भयमुक्त वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गरिएको दाबी गरेका छन्।
उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न हुने बताएका छन्। प्रहरी महानिरीक्षक दनबहादुर कार्कीले निर्वाचन बिथोल्ने प्रयास भए कडा कारबाही गर्न निर्देशन दिएका छन्।
सुरक्षा निकायका अनुसार शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र निर्वाचन प्रहरी गरी १ लाख ४९ हजारभन्दा बढी जनशक्ति खटिएको छ।
सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरी सम्भावित जोखिमको सूचना संकलन भइरहेको छ।
सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। प्रहरीको विवरणअनुसार देशभर ३ हजार ६८० मतदानस्थल अति संवेदनशील सूचीमा छन्।
मधेश प्रदेशका आठ जिल्लामा मात्रै १ हजार २४६ अति संवेदनशील मतदानस्थल रहेको जनाइएको छ।
झापा, सर्लाही, दोलखा, बाजुरा, रौतहट र महोत्तरी जिल्लामा विशेष सुरक्षा रणनीति लागू गरिएको छ।
निर्वाचनका क्रममा तीन तहको सुरक्षा घेरा कायम गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था छ। आवश्यकताअनुसार जुनसुकै घेरामा सेना परिचालन गर्न सकिने जनाइएको छ।
निर्वाचनको दिन नेपाली सेनाले हवाई गस्ती गर्नेछ। सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र बुटवलमा तयारी अवस्थामा हेलिकप्टर राखिएको छ।
दुर्गम तथा सडक सञ्जाल नपुगेका क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका ओसार्ने व्यवस्था गरिएको छ। साथै, सेनाका २७५ बम निष्क्रियकरण टोली तैनाथ छन्।
शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला परे तत्काल निष्क्रिय पारिने व्यवस्था मिलाइएको छ।
प्रधानमन्त्री शुसिला कार्की ले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएकी छन् भने प्रधानसेनापतिअशोक राज सिग्देलले उच्च सतर्कता अपनाउन मातहतलाई निर्देशन दिएका छन्।
सरकारले कडा सुरक्षा व्यवस्थाबीच आजको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।














