बग्दादस्थित अमेरिकी दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्त देश छोड्न भनेको छ। सुरक्षा अवस्था तीव्र रूपमा बिग्रँदै गएपछि दूतावासले त्यहाँ रहेका अमेरिकीहरूलाई तत्काल इराक छोड्न र त्यहाँ बस्ने सोचमा रहेकाहरूलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो।
सामाजिक सञ्जाल 'एक्स'मार्फत एक विज्ञप्ति जारी गर्दै दूतावासले इरान र इरान समर्थित सशस्त्र समूहहरूबाट सार्वजनिक सुरक्षामा गम्भीर खतरा रहेको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, 'इरान र उनीहरूसँग आबद्ध आतंकवादी मिलिसियाहरूले इराकमा सार्वजनिक सुरक्षाका लागि ठूलो खतरा पैदा गरेका छन्। अमेरिकी नागरिक, अमेरिकी स्वार्थ र महत्वपूर्ण पूर्वाधारहरूमाथि लगातार आक्रमणहरू भइरहेका छन्।'
यसैबीच, शनिबार बग्दादस्थित अमेरिकी दूतावासको भवनमा नै आक्रमण भएको छ। उक्त आक्रमणपछि दूतावास परिसरबाट बाक्लो धुवाँको मुस्लो निस्किएको दृश्य सार्वजनिक भएका छन्।
सुरक्षा जोखिमलाई मध्यनजर गर्दै दूतावासले आफ्ना नागरिकहरूलाई दूतावास वा वाणिज्य दूतावासको क्षेत्रमा नआउन समेत सचेत गराएको छ।














