काठमाडौं, २ चैत । लामो समयदेखि दुई धारमा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः पुनः एकीकृत भएको छ ।
काठमाडौंमा शनिबारदेखि जारी संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेसँगै एनआरएनएभित्रको फुट अन्त्य भएको हो ।
‘एकता, लगानी र गौरव’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको यस महाधिवेशनमा आइतबार मध्यरात नेतृत्व चयनको विषयमा ऐतिहासिक सहमति जुटेको थियो ।
विगतमा डा. बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गरेका दुई छुट्टाछुट्टै समूह अस्तित्वमा रहेका कारण संस्थाको वैधानिकता र छविमाथि प्रश्न उठ्दै आएको थियो । तर, गत मंसिर दोस्रो साता दुवै समूहबीच भएको १० बुँदे सहमति र पूर्वअध्यक्षहरूको निरन्तरको दबाबपछि एकता महाधिवेशन सम्भव भएको हो ।
अध्यक्षका अन्य बलिया दाबेदार मानिएका रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको बृहत्तर हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि डा. शर्माको नेतृत्वमा सर्वसम्मतिको बाटो खुलेको निर्वाचन समितिले जनाएको छ ।
नयाँ कार्यसमितिमा उम्मेदवारी फिर्ता लिएका रोविन शेरचनलाई वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई, जुनु गुरुङ, महेन्द्र ओली, रोशन थापा, दिनेश पोखरेल र मनोजकुमार श्रेष्ठ चयन भएका छन् । महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) र युवा उपाध्यक्षमा भीमसेन थापा निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको प्रशासनिक बागडोर सम्हाल्ने महासचिव पदमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्कालाई चयन गरिएको छ ।
कार्यसमितिको अन्य महत्वपूर्ण पदहरूमा उपमहासचिवमा टंकप्रसाद गैरे, दिनेशकुमार घिमिरे, डा. ज्ञानेन्द्र रेग्मी र पारसमणि पोखरेल तथा कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना छानिएका छन् ।
विधान संशोधनको अन्तिम प्रक्रिया पूरा गरेपछि सोमबार नै नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन समापन गर्ने तयारी संघको छ ।
यस एकताले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई पुनः एकै ठाउँमा ल्याउने र नेपालमा विदेशी लगानी भित्र्याउन थप सहज हुने विश्वास लिइएको छ ।














