काठमाडौं, चैत ९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न हालैको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाइ दिएका छन्। उनले समयमै निर्वाचन सम्पन्न भई मुलुकले लोकतान्त्रिक निकास पाएको उल्लेख गरेका छन्।
लामिछानेले प्रधानमन्त्रीको दृढता र नेतृत्वका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउँदै मन्त्रिपरिषद् र सचिवालय टिमप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि प्रधानमन्त्रीको अनुभव र मार्गदर्शन आवश्यक रहने धारणा राखेका छन्।
प्रधानमन्त्री कार्कीले भने रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताका लागि बधाइ दिँदै जनताको अपेक्षा पूरा गर्न जिम्मेवार भएर काम गर्न सुझाव दिएकी छन्। उनले देशमा चुनौती धेरै रहेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गर्न आग्रह गरेकी छन्।
भेटमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ। सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पारेका छन्। उनले सरकारलाई कार्यकालको अन्त्यसम्म प्रभावकारी रूपमा काम गर्न सुझाव दिएका छन्।
यसका साथै उनले पोर्चुगलमा रहेका नेपाली विद्यार्थीका समस्या, मध्यपूर्वको तनावका कारण नेपाली श्रमिकको सुरक्षा तथा पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।














