चैत १० — मध्यपूर्वमा जारी द्वन्द्वका बीच इसराइलको बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीलाई इरानले गरेको पछिल्लो मिसाइल आक्रमणले चुनौती दिएको छ।

शनिबार दक्षिणी इसराइलका डिमोना र अराद क्षेत्रमा इरानले प्रहार गरेका मिसाइलहरू पूर्ण रूपमा रोक्न नसक्दा १०० भन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अरादमा कम्तीमा ६४ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर रहेको उद्धार सेवाले जनाएको छ। डिमोनामा थप ४० जना घाइते भएका छन्।

डिमोना इसराइलको संवेदनशील आणविक अनुसन्धान केन्द्र नजिकको क्षेत्र हो। आक्रमणका क्रममा सक्रिय गरिएको हवाई प्रतिरक्षा प्रणालीका ‘इन्टरसेप्टर’हरूले अपेक्षित रूपमा काम नगरेको भन्दै अधिकारीहरूलाई उद्धृत गरी CBS Newsले जनाएको छ। आक्रमणबाट दर्जनौं घरमा क्षति पुगेको छ भने केही भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।

इसराइलले प्रयोग गर्दै आएको Iron Dome, David's SlingArrow system जस्ता प्रणालीहरू छोटो दूरीका रकेटदेखि लामो दूरीका ब्यालिस्टिक मिसाइलसम्म रोक्न सक्षम मानिन्छन्।

यद्यपि पछिल्लो आक्रमणले उच्च गति, बहु–वारहेड तथा एकैपटक ठूलो संख्यामा प्रहार गरिएका मिसाइलहरू रोक्न चुनौती रहेको संकेत गरेको छ।

सैन्य विश्लेषकहरूका अनुसार यसअघि इरान र उसका सहयोगी समूहहरूले प्रहार गरेका करिब ८० देखि ९० प्रतिशत ड्रोन तथा मिसाइलहरू इसराइलले आकाशमै नष्ट गर्दै आएको थियो। तर नयाँ प्रविधि र ‘ओभरलोड’ रणनीतिले प्रतिरक्षा प्रणालीलाई चक्मा दिन सक्ने देखिएको छ।

आक्रमणपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका थिए। उनले ठूलो जनधन क्षति हुनबाट “भाग्यले जोगाएको” प्रतिक्रिया दिएका छन्। साथै उनले इरानले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्।

यसैबीच, इरानले उक्त आक्रमणलाई आफ्नो आणविक केन्द्रमाथि भएको भनिएको हमलाको बदला भएको दाबी गरेको छ। तर इसराइलले त्यस्तो कुनै आक्रमण गरेको अस्वीकार गरेको छ।

दुवै देशबीच तनाव चर्किंदै जाँदा क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय स्थिरतामाथि प्रभाव पर्ने चिन्ता बढेको छ। विशेषगरी स्ट्रेट अफ हर्मुज क्षेत्रमा अवरोध सिर्जना हुँदा विश्व बजारमा पेट्रोलियम आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ।