काठमाडौँ, चैत १७ —

माननीय सोबिता गौतम ले मन्त्रालयको कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन “फास्ट ट्र्याक डेस्क” स्थापना गर्ने निर्णय गर्नुभएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा स्थापना हुने उक्त डेस्कले विभिन्न प्रशासनिक प्रक्रिया अनुगमन र सहजीकरण गर्नेछ।

निर्णयअनुसार मन्त्रालयभित्र भइरहेका कामको अवस्था ट्र्याक गरी कुन महाशाखामा के काम कस्तो चरणमा छ भन्ने यकीन गरिनेछ। साथै अन्य मन्त्रालयबाट प्राप्त पत्रहरूको फर्छ्यौटमा ढिलाइ भएरनभएको समेत निगरानी गरिनेछ।

त्यसैगरी, अपूर्ण कागजात वा क्षेत्राधिकार बाहिरका विषयहरू पहिचान गरी सम्बन्धित मन्त्रालयमा तत्काल फिर्ता गर्ने वा आवश्यक कागजात माग गर्ने प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइनेछ।

मन्त्रालयका शाखा तथा महाशाखाबाट निर्धारित समयसीमाभित्र काम सम्पन्न हुन नसकेको अवस्थामा त्यसका कारणबारे नियमित रूपमा जानकारी संकलन र प्रतिवेदन तयार गर्ने व्यवस्था पनि गरिनेछ।

मन्त्री गौतमको यो निर्णयले मन्त्रालयको सेवा प्रवाहलाई छरितो बनाउँदै प्रशासनिक ढिलासुस्ती घटाउने अपेक्षा गरिएको छ।