काठमाडौं — गृहमन्त्री सुधन गुरुङले नेपालमै प्रहरीको युनिफर्म उत्पादन गर्ने कारखाना स्थापना गरिने घोषणा गरेका छन्। सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गरी स्तरीय कपडा उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री गुरुङका अनुसार यस्तो उद्योग स्थापना हुँदा स्वदेशमै उत्पादन बढ्ने, रोजगारी सिर्जना हुने र प्रहरीका लागि आवश्यक युनिफर्म सहज रूपमा उपलब्ध हुने विश्वास लिइएको छ। उनले यसलाई आत्मनिर्भरता तर्फको महत्वपूर्ण कदमका रूपमा समेत प्रस्तुत गरे।

कार्यक्रममा बोल्दै उनले अर्को महत्वपूर्ण निर्णयसमेत सार्वजनिक गरे। अबदेखि प्रहरी महानिरीक्षक (आईजीपी)लाई फुली मन्त्रालयका सचिवले नभई प्रधानमन्त्रीले लगाइदिने व्यवस्था गरिने उनले बताए। लामो समयदेखि उच्च प्रहरी अधिकृतहरूले यस्तो व्यवस्था गर्नुपर्ने माग गर्दै आएका थिए।

गुरुङको उक्त घोषणापछि कार्यक्रमस्थल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा उपस्थित प्रहरी अधिकृतहरूबीच उत्साह देखिएको थियो र तालीको गडगडाहट सुनिएको थियो।

सरकारको यस घोषणाले प्रहरी संगठनभित्र संरचनात्मक तथा प्रतीकात्मक दुवै प्रकारका परिवर्तनको संकेत गरेको छ।