काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ सम्पन्न भएपश्चात् संघीय संसदको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित नवनिर्मित संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। निर्वाचन आयोगले चैत ५ गते अन्तिम प्रतिवेदन बुझाएको र नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गरेपछि आज पहिलो बैठक बस्न लागेको हो।

ज्येष्ठ सदस्यद्वारा बैठक सञ्चालन

बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद् गठन सम्बन्धी जानकारी गराउने कार्यक्रम छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भौतिक, प्राविधिक र सुरक्षा लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रिय सभाको बैठक भने सचिवालयस्थित पुरानै राष्ट्रिय सभा कक्षमा बस्नेछ।

शीर्ष नेताहरूले सम्बोधन गर्ने

बैठकको विशेष कार्यसूचीमा दलीय आधारमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सचिवालयका अनुसार आजको बैठकमा:

  • रास्वपा: सभापति रवि लामिछाने

  • नेकपा एमाले: संसदीय दलका नेता रामबहादुर थापा 'बादल'

  • नेपाली कम्युनिस्ट पार्टी: संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'

  • श्रम संस्कृति पार्टी: हर्क साम्पाङ

  • राप्रपा: ज्ञानबहादुर शाही

नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने तय हुन बाँकी छ।

तीनवटा अध्यादेश पेस हुने

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा महत्वपूर्ण अध्यादेशहरू पेस गर्ने सम्भावित कार्यसूची छ:

१. मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२

२. प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२

३. नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२

सभामुख निर्वाचनको मिति तय

आजको बैठकबाटै सभामुख निर्वाचनको तालिका सार्वजनिक हुनेछ। सर्वदलीय बैठकको सहमति अनुसार चैत २२ गते सभामुखको निर्वाचन हुने गरी ज्येष्ठ सदस्य केसीले मिति तोक्नेछन्। साथै, नयाँ नियमावली नबन्दासम्म 'प्रतिनिधिसभा नियमावली २०७९' अनुसार कामकारबाही अघि बढाउने प्रस्ताव पनि आजै स्वीकृत गरिनेछ।

बैठकको अन्त्यमा ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोरा लगायतका पूर्व सदस्यहरूको निधनमा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ।