बिर्तामोड (मोफसल अनलाइन) । नेपालमा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षाप्रतिको बढ्दो चासोबीच 'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' (AWS Community Day Nepal 2026) को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजा मा आयोजना गरिएको यस सम्मेलनलाई नेपालकै सबैभन्दा ठूलो समुदाय-आधारित प्रविधि सम्मेलनहरूमध्ये एक मानिएको छ।

01245

AWS User Group Nepal द्वारा आयोजित उक्त कार्यक्रममा नेपालभरबाट ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट, स्टार्टअप संस्थापक, संस्थागत नेतृत्वकर्ता तथा प्रविधिक्षेत्रका पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनमा क्लाउड पूर्वाधार, साइबर सुरक्षा, एआई प्रणाली, प्लेटफर्म इन्जिनियरिङ तथा आधुनिक डिजिटल रूपान्तरणसम्बन्धी १५ भन्दा बढी प्राविधिक सेसन, कीनोट प्रस्तुति, र विशेष प्राविधिक ट्र्याकहरू सञ्चालन गरिएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै AWS User Group Nepal का लिडर तथा जेनेस सोलुसनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत अन्जानी फुयाँलले नेपालमा क्लाउड, एआई र साइबर सुरक्षा क्षेत्रमा समुदायमार्फत हुने सिकाइ र सहकार्यको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताउनुभयो।

यूके तथा आयरल्याण्ड क्षेत्रमा शीर्ष एडब्लुएस एम्बेसेडर (AWS Ambassador) का रूपमा परिचित फुयाँलले भन्नुभयो, “AWS Community Day Nepal केवल प्राविधिक सेसनहरूको कार्यक्रम मात्र होइन, यो निर्माणकर्ता, सिक्ने समुदाय, नेतृत्वकर्ता तथा नवप्रवर्तनकर्ताहरूलाई एकै ठाउँमा ल्याएर सहकार्य, सिकाइ र नेपालको डिजिटल भविष्यलाई सशक्त बनाउन जोड्ने साझा मञ्च हो।”

124578कार्यक्रममा भारतबाट आएका AWS तथा प्रविधिक्षेत्रका अन्तर्राष्ट्रिय विज्ञहरू चनप्रितसिंह (Senior Delivery Consultant – AI/ML, AWS India), अमित कुमार (Senior Solution Architect, AWS India), र जतिन मेहरोत्रा (Developer Advocate, AWS) लगायतले व्यवहारिक एआई प्रयोग, भरपर्दो क्लाउड पूर्वाधार र आधुनिक क्लाउड-नेटिभ एप्लिकेसन निर्माणका विषयमा आफ्ना प्रस्तुतिहरू राखेका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको नेतृत्वस्तरको प्यानल छलफलको सहजीकरण अन्जानी फुयाँलले गर्नुभएको थियो। उक्त महत्त्वपूर्ण बहसमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष राजेन्द्र खेतान, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे, र नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान सहभागी हुनुहुन्थ्यो।

छलफलका क्रममा नेपालका वित्तीय संस्था, उद्यम तथा प्रविधि नेतृत्वकर्ताहरूले क्लाउड प्रविधि अपनाउने तयारी, एआई रणनीति र साइबर सुरक्षा सुदृढीकरणलाई कसरी अघि बढाइरहेका छन् भन्ने विषयमा गहन विचार आदानप्रदान गरिएको थियो।

सम्मेलनमा तीनवटा समानान्तर प्राविधिक ट्र्याकहरू सञ्चालन गरिएका थिए, जसमा:

  • Cloud & Platform Engineering

  • Security, Compliance & Resilience Architectures

  • Data Platforms, AI Systems & Production Machine Learning

यस अवसरमा मोहम्मद मिजानुर रहमान, पुरु तुलाधर, आनन्द मेहता, श्रीति श्रेष्ठ, नारायण कोइराला तथा प्रभात आचार्य लगायतका प्राविधिक वक्ताहरूले क्लाउड सञ्चालन, DevSecOps, एआई प्रणाली र उद्यम-स्तरका डिजिटल प्लेटफर्मसम्बन्धी आफ्ना व्यावहारिक अनुभव र दृष्टिकोण साझा गर्नुभएको थियो।