पवन ढकाल, झापाको  बुद्धशान्ति गाउँपालिका–१ भाेटेटारमा केही वर्षअघिसम्म खेल मैदानकाे अवस्था ढुङ्गा सहितकाे उबडखाबड मात्रै थियो । आज त्यही ठाउँ युवा खेलाडीहरूका लागि सपना, उत्साह र पहिचान बनेको छ ।


वडाध्यक्ष अनिल वाग्लेको सक्रियता, स्थानीय युवाको मेहनत र न्यू स्टार युथ क्लबको निरन्तरकाे लगाव पछि अहिले भाेटेटार खेलमैदान पालिकाकै आकर्षण बन्न थालेको हो ।

IMG-20260518-WA0019

“पहिला खेल्न ठाउँ खोज्नुपर्थ्यो, अहिले आफ्नै मैदान छ,” स्थानीय युवा खेलाडीहरू गर्वका साथ भन्छन् । मैदानलाई व्यवस्थित बनाउन यसअघि माटो हालेर सम्याउने काम गरिएको थियो भने अहिले बाढीको जोखिम कम गर्न तटबन्ध निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमा वडा कार्यालयको डेढ लाख रुपैयाँकाे लागतमा स्टेज समेत निर्माण भएपछि मैदान अझ व्यवस्थित र आकर्षक देखिन थालेको छ ।


स्थानीयका अनुसार, “साधारण ढुङ्गाघारीलाई खेलमैदान बनाउने सपना धेरैले देखेका थिए, तर त्यसलाई काममा परिणत गर्ने आँट वडाध्यक्ष वाग्लेले गरे ।”

IMG-20260513-WA0014

वडाध्यक्ष वाग्ले भन्छन्, “आज हामी सबैको साझा प्रयासले त्यो ढुङ्गाघारी एउटा लोभलाग्दो खेलमैदानमा रूपान्तरण भएको छ । काम अझै बाँकी छ, तर हाम्रो अभियानले यसलाई उत्कृष्ट मैदान बनाएरै छाड्नेछ । जनप्रतिनिधि र न्यू स्टार युथ क्लबको सक्रियताले यो ब्यवस्थित बनिनेछ ।” 


खेलमैदान बनेसँगै भाेटेटारमा फुटबल खेल गतिविधि बढ्न थालेकाे मात्रै छैन, थप ब्यवसाहिक फड्काे मार्ने दिशामा भाेटेटार अघि बढिरहेकाे छ। स्थानीय युवाहरूमा खेलप्रति उत्साह, अनुशासन र सामूहिक भावना पनि विकास भइरहेको स्थानीयको भनाइ छ ।

IMG-20260518-WA0018

युवाहरूको विश्वास छ—

“यदि यहाँ नियमित प्रतियोगिता सञ्चालन गर्न सकियो भने भाेटेटार खेलकुदको केन्द्र मात्रै होइन, स्थानीय व्यापार व्यवसाय चलायमान बनाउने नयाँ गन्तव्यसमेत बन्न सक्छ ।”

एक समय सुनसान रहेको ढुङ्गाघारी अहिले हरेक साँझ युवाको हुटिङ, खेलाडीको पसिना र दर्शकको उत्साहले गुञ्जिन थालेको छ । भाेटेटार अब केवल एउटा ठाउँ होइन, युवाहरूको सपनाकाे मैदान बनेको छ ।