पूर्व गृहमन्त्री तथा सुधन गुरुङ ले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताउनुभएको छ।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार रहेको उल्लेख गर्नुभयो।
“मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्न निकै कडा थिए, जसको मैले सहज र स्पष्ट जवाफ दिएको छु,” उहाँले भन्नुभयो।
बयानका क्रममा भएको एक रोचक प्रसंग सुनाउँदै गुरुङले ठट्यौली शैलीमा भने, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्यो। मैले पनि ‘तपाईंहरूको सम्पत्ति पनि छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।”
उहाँले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गर्नुभयो।
साथै, आफू निर्दोष सावित भएर पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउने सम्भावनाप्रति संकेत गर्दै गुरुङले फरक आग्रह पनि गर्नुभयो। “यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा बधाई दिन र तस्बिर खिच्न सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,” उहाँले भन्नुभयो। कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा गुरुङले पार्टी संगठन सुदृढीकरणका विषयमा पनि धारणा राख्दै अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित नभई जिल्लामै बसेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
“राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन,” उहाँले बताउनुभयो।
कार्यक्रममा उहाँले आफू गृहमन्त्री रहँदा आम नागरिकबाट पाएको साथ र सहयोगको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखावासी मतदाताप्रति आभार व्यक्त गर्नुभयो।














