बिर्तामोड । वैदेशिक रोजगारी र व्यवसायका लागि विदेशिने युवाहरूको लर्को लागिरहेका बेला, अष्ट्रेलियामा आर्जन गरेको सीप, पूँजी र व्यावसायिक अनुभवलाई स्वदेशमै लगानी गर्दै एक नेपाली दम्पतीले झापामा अन्तर्राष्ट्रिय स्तरको मोबाइल हब सञ्चालनमा ल्याउने भएका छन्।

झापा मेचीनगर–९ धुलाबारी निवासी अरुण उप्रेतीस्मृति ढकाल उप्रेतीले बिर्तामोडको मुटुमा रहेको ‘वान स्टप मल’मा आगामी असार ३ गतेदेखि अत्याधुनिक ‘कङ्गारु मोबाइल जोन’ सञ्चालनमा ल्याउन लागेका हुन्।

0233333


आइतबार बिर्तामोडमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त व्यवसायिक सुरुवातबारे औपचारिक जानकारी दिइएको हो।

अष्ट्रेलियाका विभिन्न १६ वटा स्थानमा सफल रूपमा ‘कङ्गारु मोबाइल जोन’का स्टलहरू सञ्चालन गरिसकेका उप्रेती दम्पतीले त्यहाँको ब्रान्ड भ्यालु र उपभोक्तामुखी सेवालाई अब पूर्वी नेपालको केन्द्र बिर्तामोडमा विस्तार गर्न लागेका हुन्।

99999

पत्रकार सम्मेलनमा बोल्दै सञ्चालक अरुण उप्रेतीले भने–"हामीले बिर्तामोडलाई केन्द्र बनाएर झापा, इलाम, पाँचथर, ताप्लेजुङसहित सिङ्गो पूर्वी क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा उपलब्ध गराउने लक्ष्य राखेका छौँ। विदेशको सफलता र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्न पाउँदा छुट्टै उत्साह थपिएको छ।"

के-के पाइन्छ ‘कङ्गारु मोबाइल जोन’मा?

बजारमा बढ्दो प्रविधिको माग र दक्ष प्राविधिक जनशक्तिको अभावलाई सम्बोधन गर्ने गरी यो जोनले बहुआयामिक सेवाहरू एउटै छानामुनि उपलब्ध गराउने भएको छ:

  • नयाँ तथा ब्रान्डेड मोबाइल: विश्व बजारका चल्तीका अत्याधुनिक मोबाइल फोनहरू।

  • वारेन्टीसहितका सेकेन्ड ह्यान्ड मोबाइल: कडा प्राविधिक परीक्षण गरिएका, ग्यारेन्टीसहितका प्रयोग गरिएका (Used) मोबाइलहरू।

  • ब्रान्डेड एक्सेसरिज: मोबाइलका लागि आवश्यक उच्च गुणस्तरका सामानहरू।

  • अत्याधुनिक मर्मत सेवा: अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो मोबाइल रिपेयरिङ।

  • प्राविधिक तालिम: प्रविधि क्षेत्रमा करियर बनाउन चाहने युवाहरूका लागि विशेष तालिम।

अर्का सञ्चालक स्मृति ढकाल उप्रेतीले प्रविधिको तीव्र विकाससँगै मोबाइल र इन्टरनेट दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको उल्लेख गर्दै गुणस्तरीय सेवा र विश्वसनीय प्राविधिक सहयोगको खाँचो महसुस गरेर यो कदम चालिएको स्पष्ट पारिन्। उनले अष्ट्रेलियामा स्थापित व्यावसायिक मूल्य, उपभोक्ताप्रतिको उत्तरदायित्व र सरल-सुलभ मूल्य नीतिलाई नेपालमा पनि दृढताका साथ लागू गरिने प्रतिबद्धता जनाइन्।

विदेशी भूमिमा आर्जित सीप, प्रविधि र पूँजीलाई स्वदेशमै लगानी गरेर युवा स्वरोजगार र प्रविधि हस्तान्तरणमा उप्रेती दम्पतीले गरेको यो प्रयासलाई स्थानीय व्यवसायिक र सामाजिक क्षेत्रले निकै सकारात्मक रूपमा लिएको छ।

आइतबार सम्पन्न उक्त विशेष पत्रकार सम्मेलनको सहजीकरण झापाका स्थापित पत्रकार लक्ष्मी उप्रेतीले गर्नुभएको थियो।