काठमाडौँ ।

आउँदो हप्ता टर्कीको अंकारामा हुन गइरहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) शिखर सम्मेलनको पूर्वसन्ध्यामा युक्रेन युद्ध अन्त्यका लागि विश्वव्यापी कूटनीतिक प्रयास तीव्र बनेको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै युद्धको निकास खोज्न अमेरिकी नेतृत्व मध्यस्थताका लागि तयार रहेको स्पष्ट पार्नुभएको छ ।


अमेरिकी स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच झण्डै ९० मिनेट लामो गहन संवाद भएको क्रेमलिन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।


डेंगी राेगबाट बचाैं

वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले युक्रेन द्वन्द्वलाई छिटोभन्दा छिटो रोक्न र स्थायी समाधान पहिल्याउन आफू इच्छुक रहेको दोहोर्‍याउनुभएको छ ।

जवाफमा रुसी राष्ट्रपति पुटिनले रुस सधैँ राजनीतिक र कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै वार्ताका लागि मस्कोको 'आधारभूत सुरक्षा चासो र अडान' लाई सम्मान गरिनुपर्ने सर्त राख्नुभएको छ ।


रुसी पक्षले डोनबास क्षेत्रमाथि आफ्नो पूर्ण नियन्त्रण कायम हुनुपर्ने अडानलाई पुन: जोड दिएको छ ।


सोही क्रममा पुटिनले युक्रेन र उसका युरोपेली सहयोगी राष्ट्रहरूले पश्चिमा हतियार प्रयोग गरी रुसभित्र आक्रमण बढाएर द्वन्द्वलाई थप लम्ब्याउन खोजेको आरोप समेत लगाउनुभयो ।


क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले राष्ट्रपति ट्रम्पलाई औपचारिक रूपमा मस्को भ्रमणको निमन्त्रणा समेत दिनुभएको छ ।