बिर्तामोड । भरत प्रसाई , अमृत स्टोरको प्रस्तुति TVS झापा रकस्टार तेस्रो सिजन खुल्ला ब्याण्ड च्यालेन्ज (कोशी लेभल) को ग्रान्ड फिनाले आगामी असार २६ गते हुने भएको छ।

ग्रान्ड फिनालेबारे जानकारी दिन बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस वर्ष प्रतियोगितालाई कोशी प्रदेशस्तरीय बनाइएको जनाएको हो।

अमृत स्टोर बिर्तामोडको आयोजना तथा एनएसएस इभेन्टको व्यवस्थापनमा विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताले झापा तथा पूर्वी नेपालका उदाउँदा ब्याण्ड र संगीतकर्मीलाई व्यवस्थित मञ्च उपलब्ध गराउँदै आएको आयोजकको भनाइ छ।

कार्यक्रम निर्देशक सुनिता तामाङले युवा प्रतिभालाई राष्ट्रियस्तरको अवसर दिलाउने उद्देश्यले तेस्रो संस्करण आयोजना गरिएको बताउँदै प्रतियोगिताले नयाँ पुस्ताका संगीतकर्मीलाई अनुभव र पहिचान दुवै दिलाउने विश्वास व्यक्त गर्नुभयो।

fddfdfdfdf

IMG_8979

प्रतियोगिताका लागि वैशाख ५ देखि जेठ १० गतेसम्म आवेदन खुला गरिएको थियो। कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त आवेदनमध्ये करिब १२ वटा ब्याण्ड डिजिटल अडिसनमा सहभागी भएका थिए।

त्यसपछि उत्कृष्ट ब्याण्डहरूलाई फिजिकल अडिसनमा सहभागी गराइएको र अन्ततः उत्कृष्ट पाँच ब्याण्ड ग्रान्ड फिनालेका लागि छनोट गरिएको आयोजकले जनाएको छ।

ग्रान्ड फिनालेमा प्रथम हुने ब्याण्डले रु. ५० हजार नगद, लिभिङ स्टोन V1 गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्नेछ।

दोस्रो हुनेले पोर्टफोलियो सुट र एभरेस्ट गिटार तथा तेस्रो हुनेले रु. २० हजार नगद, पोर्टफोलियो सुट र साउन्डस्केप गिटार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट एक ब्याण्डलाई TVS को ब्रान्ड सङ निर्माण गर्ने अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा TVS का झापा वितरक प्रमुख हरि न्यौपानेले ग्रान्ड फिनालेकै अवसरमा TVS Apache RTR 160 4V USD को क्षेत्रीय (रिजनल) लन्च गरिने जानकारी दिनुभयो।

कार्यक्रम निर्देशक सुनिता तामाङका अनुसार प्रतियोगिताको फाइनलको तयारी अन्तिम चरणमा पुगेको छ। फाइनलमा आवाज ब्यान्ड (इलाम), यात्री ब्यान्ड (चारआली), बास क्लेफ ब्यान्ड (बिर्तामोड), राग भर्स (बिर्तामोड) र जेनियम ब्यान्ड (धुलाबारी) बीच प्रतिस्पर्धा हुनेछ। 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालको चर्चित ब्याण्ड Prism Band का ड्रमर आइकन देवरानाको विशेष उपस्थिति रहनेछ। प्रतियोगिताको निर्णायक मण्डलमा संगीत निर्माता संजीव सुब्बा, दार्जिलिङका गायक तथा गिटारिस्ट सहदेव लामा र गायक तथा संगीत शिक्षक अर्जुन दाहाल रहने आयोजकले जनाएको छ।


IMG_8971कार्यक्रमका अध्यक्ष अमृत पौडेलले तेस्रो संस्करणसम्म आइपुग्दा झापा रकस्टारले झापाको सीमालाई पार गर्दै सम्पूर्ण कोशी प्रदेशलाई जोड्न सफल भएको बताउनुभयो।

उहाँले यो प्रतियोगिता केवल ब्याण्डबीचको प्रतिस्पर्धा नभई संगीतप्रेमी, कलाकार र दर्शकलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्नुभयो।

पत्रकार सम्मेलनको सहजीकरण प्रतियोगिताका प्रेस कोर्डिनेटर तिलक योन्सनले गर्नुभएको थियो।

प्रतियोगिताको ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण आँगन एफएमबाट गरिनेछ भने खबरखेती डटकम मिडिया पार्टनरका रूपमा रहने आयोजकले जनाएको छ।