काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच मन्त्री हेरफेर र पार्टी पदाधिकारी मनोनयनको विषयमा अझै सहमति जुट्न सकेको छैन ।
गत असार २८ गते करिब चार घण्टा भएको भेटवार्तामा केही मन्त्रीको कार्यसम्पादनका आधारमा हेरफेर गर्ने प्रधानमन्त्री शाहको प्रस्तावमा सभापति लामिछानेले प्रधानमन्त्री सचिवालयका केही सदस्य परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।
दुवै पक्षले आ–आफ्ना असन्तुष्टि राखे पनि कुनै निष्कर्ष निस्किएन ।
रास्वपाका नेताहरूका अनुसार सरकार पाँच वर्ष निरन्तर रहनेमा पार्टी स्पष्ट रहे पनि कार्यसम्पादनका आधारमा मन्त्री परिवर्तन हुन सक्ने सम्भावना खुला छ ।
सरकारको नेतृत्व परिवर्तनबारे भने अहिले कुनै निर्णय नभएको उनीहरूको भनाइ छ ।
छलफलमा सरकारको कामको गति बढाउने, बजारमा फैलिएका हल्ला न्यूनीकरण गर्ने तथा सुकुमवासी समस्याको समाधानलाई प्रभावकारी बनाउने विषय पनि उठेको थियो ।
यस्तै, रास्वपाको प्रथम महाधिवेशनपछि मनोनयन गर्न बाँकी पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य चयनको विषयमा पनि निर्णय हुन सकेको छैन ।
पार्टी नेतृत्वले समावेशिता र सन्तुलनलाई ध्यानमा राखेर आवश्यक तयारीपछि मात्र मनोनयन प्रक्रिया अघि बढाउने जनाएको छ ।














