काठमाडौं। सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको छ।

अर्थ मन्त्रालयले गत साउन ६ गते मन्त्रिपरिषद्‌मा पेस गरेको नयाँ तलबमानसम्बन्धी प्रस्तावलाई १५ दिनपछि क्याबिनेटले स्वीकृत गर्दै सम्बन्धित निकायहरूमा पठाएको हो।

स्वीकृत नयाँ तलबमान अनुसार साउन १ गतेदेखि नै लागू हुने गरी कर्मचारीहरूको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ताबापत थप १० प्रतिशत वृद्धि गरिएको छ। यस्तै, सेवानिवृत्त पेन्सनधारी राष्ट्रसेवकहरूको हकमा पनि १० प्रतिशत नै पेन्सन वृद्धि गरिएको छ।

नयाँ तलब संरचनाअनुसार निजामती सेवातर्फ सबैभन्दा बढी तलब मुख्यसचिवको हुनेछ। मुख्यसचिवको नयाँ तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ। त्यसैगरी, सबैभन्दा तल्लो तहका प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ।

जनचेतनाका लागि जारी

सुरक्षा निकायहरूतर्फ नेपाली सेनाका प्रधानसेनापतिले मुख्यसचिव सरह अर्थात् ९० हजार ५ सय ९४ रुपैयाँ पाउनेछन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकको मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।