बिर्तामोड । झापाको पर्यटकीय तथा व्यवसायिक क्षेत्रमा स्थापित ब्रान्ड ‘हिकोला हेरिटेज’को नाम र ट्रेडमार्क अनधिकृत रूपमा प्रयोग नगर्न उद्योग विभागले कडा अन्तरकालीन आदेश जारी गरेको छ।

काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’का नाममा सञ्चालन भइरहेको होटललाई लक्षित गर्दै विभागले यस्तो रोक लगाएको हो।

बिर्तामोड-४ स्थित ‘होटल हिकोला हेरिटेज प्रालि’ले आफ्नो ब्रान्ड नाममा ‘न्यू’ शब्द मात्रै थपेर अनधिकृत रूपमा होटल चलाइएको भन्दै विभागमा कानूनी उपचारका लागि निवेदन दिएको थियो।

सोही उजुरीका आधारमा विभागले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम साउन २६ गते उक्त अन्तरकालीन आदेश जारी गरेको जनाएको छ।

 जनहितमा जारी

बिर्तामोडमा सफल व्यवसाय सञ्चालनपछि होटल हिकोला हेरिटेजले आफ्नो सेवा विस्तार गर्ने क्रममा काँकडभिट्टामा १५ वर्षका लागि घर भाडामा लिई करिब अढाई करोड रुपैयाँ लगानीमा होटल सञ्चालनमा ल्याएको थियो।

तर, केही समयपछि घरधनी र सञ्चालक पक्षबीच भाडासम्बन्धी विवाद उत्पन्न भयो। होटल सञ्चालक देवीभक्त श्रेष्ठका अनुसार घरधनी पक्षले सम्झौता विपरीत होटल नियन्त्रणमा लिई सञ्चालक गौरव श्रेष्ठ र व्यवस्थापक विवेक बराललाई हातपात गर्दै निकालिदिएका थिए।

त्यसरी होटल नियन्त्रणमा लिएपछि घरधनी पक्षले साविककै स्थापित ब्रान्डमा ‘न्यू’ शब्द जोडेर विगत तीन वर्षदेखि गैरकानूनी रूपमा होटल सञ्चालन गर्दै आएको श्रेष्ठको आरोप छ।

देवीभक्त श्रेष्ठ, सञ्चालक (होटल हिकोला हेरिटेज प्रा लि)  “हाम्रो अढाई करोडको लगानी, व्यावसायिक प्रतिष्ठा र स्थापित ब्रान्डलाई कब्जा गरेर तीन वर्षदेखि ‘न्यू’ नाम थपेर चलाइयो। आफ्नो लगानी र ब्रान्ड जोगाउन हामीले ट्रेडमार्कसम्बन्धी कानूनी बाटो रोजेका हौँ।” 

उद्योग विभागले अन्तरकालीन आदेश जारी गरी अनधिकृत नाम प्रयोगमा रोक लगाइसकेको छ।

 घरभाडा सम्झौता र सञ्चालन विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ।अदालतमा विचाराधीन मुद्दाबाट न्याय पाउनेमा आफू पूर्ण विश्वस्त रहेको र कसैलाई अन्याय नगरेकाले कानूनले सत्यको पक्ष लिने सञ्चालक श्रेष्ठको भनाइ छ।