भरत भाबुक प्रसाई । तीज केवल एउटा पर्व वा नाचगान गर्ने दिन मात्र होइन, यो नेपाली नारीहरूको आस्था, त्याग, आत्मसम्मान र संवेदनाको एउटा जीवन्त सङ्गम हो। वर्षभरि सासू-ससुरा, श्रीमान् र घरव्यवहारको जिम्मेवारीमा बाँधिएका गोडाहरू तीजको आगमनसँगै माइतीको आँगनतर्फ मोडिन खोज्छन्।
जब आकाशमा कालो बादल मडारिन्छ र भदौको झरी पर्न थाल्छ, तब प्रत्येक छोरीको मनभित्र माइतीको सम्झना र आमाको ममताको हलचल पैदा हुन्छ।
रातो साडी र पोतेमा सजिएर हाँस्ने प्रत्येक नारीको आँखाभित्र, कतै न कतै माइतीको आँगन र आमाको काख छुटेको एउटा आघात लुकेको हुन्छ।
तीजको पौराणिक पृष्ठभूमि हेर्दा यसको सुरुआत हिन्दु धर्मग्रन्थ र सत्ययुगको प्रसङ्गसँग जोडिएको पाइन्छ। राजा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउनका लागि अन्न र जलसम्म त्याग गरी कठोर तपस्या गरेकी थिइन्।
पार्वतीको यो त्याग र समर्पणबाट प्रसन्न भई भगवान् शिवले भाद्र शुक्ल तृतीयाका दिन उनलाई पत्नीको रूपमा स्वीकार गर्नुभएको धार्मिक विश्वास छ।
पार्वतीलाई उनका सखीहरूले हरण गरेर अथवा लुकाएर जङ्गलमा लगेर तपस्या गराएकाले यस पर्वलाई हरितालिका तीज पनि भनिन्छ।
यही पौराणिक घटनालाई स्मरण गर्दै परापूर्वकालदेखि नै नेपाली नारीहरूले आफ्नो सौभाग्य, परिवारको समृद्धि र प्रियजनको दीर्घायुका लागि यो व्रत बस्ने परम्पराको थालनी गरेका हुन्।
नेपाली समाजमा तीज मनाउनुको मुख्य कारण माइती र छोरीबीचको पवित्र पुनर्मिलन नै हो। प्राचीन समयमा यातायात र सञ्चारको सुविधा नहुँदा विवाह गरेर परघर पुगेकी छोरी वर्षभरि माइती आउन पाउँदिनथिन्। तीजको अवसरमा भाइ वा बुबा लिन जाने र छोरीलाई माइती ल्याउने परम्पराले यसलाई एउटा भावुक पुनर्मिलनको पर्व बनायो।
आमाको हातले पकाएको दरमा मिसिएको निस्वार्थ माया, बाल्यकालका साथीहरूसँगको नाचगान र आमाको फरियाको कुना समातेका यादहरू तीजका गीतसँगै ब्युँझिने गर्छन्। मादलको ताल र तीजको भाकामा केवल सङ्गीत मात्र हुँदैन, त्यहाँ त घर छोडेर जाँदा रोकिएका छोरीका आँसु, सासू-नन्दका गिल्ला र जीवनका तिता-मीठा अनुभवहरू पोखिएका हुन्छन्।
यद्यपि, समयको परिवर्तनसँगै तीजको मूल मर्म र मौलिकतामा केही गम्भीर विकृतिहरू पनि भित्रिएका छन्। आजभोलि एक महिना अघिदेखि नै पार्टी प्यालेसहरूमा महँगा दर खाने कार्यक्रमहरू आयोजना गर्ने, गहना र कपडाको होडबाजी गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ। यसले गर्दा विपन्न र मध्यमवर्गीय परिवारमा अनावश्यक आर्थिक तथा मानसिक तनाव सिर्जना भइरहेको छ।
त्यसैगरी, आमा-छोरीको सुख-दुःख र मौलिक लोकभाका समेटिएका परम्परागत गीतको ठाउँमा दोहोरो अर्थ लाग्ने र डिजे शैलीका भद्दा गीतहरूले प्रश्रय पाउन थालेका छन्। स्वास्थ्यलाई जोखिममा राखेर गरिने कठोर व्रत वा केवल सामाजिक सञ्जालमा देखाउनका लागि गरिने तडकभडकले यसको पवित्रतालाई धमिल्याएको छ।
तीज भनेको केवल व्रत, गहना र नाचगान मात्र होइन, यो त छुटेका सम्बन्धहरूलाई पुनः जोड्ने, आमा र छोरीको हृदय साट्ने र नारीत्वको उत्सव मनाउने एउटा पवित्र भाका हो।
त्यसैले यसमा भित्रिएका भद्दा बजारीकरण र विकृतिहरूलाई पन्छाउँदै तीजको वास्तविक सात्त्विकता, मौलिकता र सांस्कृतिक गरिमालाई जोगाउनु आजका सम्पूर्ण नेपाली नारीहरूको साझा कर्तव्य बनेको छ।














