झापा । पत्रकार सन्तोष न्यौपानेका विषयमा सामाजिक सञ्जालमा भ्रामक र तथ्यहीन सूचना पोस्ट गर्ने व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

केही दिनअघि पत्रकार न्यौपानेले 'पैसा खाएको र एभिन्युज टेलिभिजनबाट निकालिएको' भन्दै सामाजिक सञ्जालमा आधारहीन पोस्ट गरिएको थियो। उक्त विषयलाई लिएर मङ्गलबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबीच छलफल भएको थियो।

प्रहरी कार्यालयमा पत्रकार महासंघ झापा शाखाका पदाधिकारी, सदस्यहरू, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा भएको प्रत्यक्ष संवादपछि सो पोस्टमा उल्लिखित कुरा कुनै पनि तथ्यमा आधारित नभएको स्पष्ट भएको हो।

छलफलक्रममा आरोप लगाउने व्यक्तिले कुनै पनि व्यक्तिको चरित्र, प्रतिष्ठा र व्यावसायिक मर्यादामा असर पर्ने विषय प्रमाणबिना सार्वजनिक गर्नु आफ्नो गम्भीर गल्ती भएको भन्दै सम्पूर्ण जिम्मेवारी स्वयं लिने बताएका छन्। उनले पत्रकार न्यौपाने हालसम्म पनि एभिन्युज टेलिभिजनमै कार्यरत रहेको वास्तविकता बुझेपछि व्यक्तिगत रूपमा र सार्वजनिक रूपमा बिनासर्त क्षमा मागेका हुन्।

 जनहितमा जारी

"उहाँप्रति मेरो कुनै व्यक्तिगत पूर्वाग्रह वा रिसिइबी थिएन। तर तथ्य पुष्टि नगरी कसैमाथि आरोप लगाउनु गलत नै हो भन्ने मैले महसुस गरेको छु," उनले भने, "गलत सूचना फैलाएर पन्छिनु भन्दा गल्ती स्वीकार गरी सच्याउनु नै मेरो जिम्मेवारी ठानेर क्षमायाचना गरेको हुँ।"

साथै, उनले आगामी दिनमा कुनै पनि व्यक्तिसँग सम्बन्धित संवेदनशील विषयमा तथ्य र प्रमाणको पूर्ण पुष्टि नगरी कुनै पनि दाबी वा आरोप सार्वजनिक नगर्ने लिखित प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रहरी प्रशासन र पत्रकार सम्बद्ध सरोकारवालाहरूको रोहवरमा भएको सो छलफलपछि भ्रामक पोस्ट हटाएर सार्वजनिक रूपमा क्षमायाचना गर्न दुवै पक्ष सहमत भएका हुन्।