बिर्तामोड, भदौ ९ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा इस्ट होराइजन नेपाली साहित्यिक क्लब गठन गरिएको छ ।

नेपाली साहित्य डटकमको अगुवाइमा विद्यालयमा क्लब गठन गरिएको हो । खेलकुद, नृत्य, गायन, चित्रकला लगायतका प्रतियोगितामा अग्रणी रहेको इस्ट होराइजनमा नेपालमै पहिलो साहित्यक क्लब गठन गरिएको हो ।

विद्यार्थीमा लुकेको सिर्जनात्मक प्रतिभालाई उजागर गर्दै साहित्यप्रतिको रुचि बढाउने उद्देश्यले क्लब गठन भएको हो । क्लब गठनका अवसरमा चर्चित स्टोरी टेलर साइग्रेस पोखरेल, साहित्यकार तथा रेडियोकर्मी शिरो सान्दाइ, नेपाली साहित्य डटकमका सिइओ अर्जुन उप्रेती लगायतको सहभागिता रहेको थियो ।

शिक्षक योगराज खनालको संरक्षकत्वमा सात सदस्यीय क्लब गठन गरिएको छ । क्लबको अध्यक्षमा रियान थापा, उपाध्यक्षमा सदिक्षा अधिकारी र सचिवमा सारान्या खनाल चयन भएका छन् । सदस्यहरूमा प्रकृति पोखरेल, मोहित राजवंशी, आकांक्षा संग्रौला र संयोग खनाल रहेका छन् ।

 जनहितमा जारी

क्लबले विद्यालयमा साहित्यिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै विद्यार्थीको लेखन, वाचन, कल्पनाशक्ति र अभिव्यक्ति क्षमताको विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

साथै, यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास र व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली साहित्य डटकमले विद्यालय तहदेखि नै बालबालिकालाई साहित्यसँग जोड्ने उद्देश्यले झापालगायत देशभरका विभिन्न विद्यालयमा नेपाली साहित्यिक क्लब गठन गर्ने अभियान अघि बढाएको जनाएको छ ।