बिर्तामोड । भरत भाबुक प्रसाई ,
पूर्वी नेपालको पर्यटन आतिथ्यता तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धनमा सक्रिय होटल हिकोला हेरिटेज प्रालिले आफ्नो सफल यात्राको १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको छ।
होटलको १३औँ वार्षिकोत्सवको अवसरमा २०८३ साल भदौ ४ गते बिहीबार अर्थात् अगस्ट २०२६ मा साहित्य चौतारीको प्रेक्षालयमा पर्यटन प्रवर्द्धनमा संगीत, संगीत विद्यालय तथा कलाको भूमिका र महत्त्व विषयक अन्तरक्रिया, शुभकामना, पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो।

पहिलो सत्रमा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया तथा शुभकामना कार्यक्रम गरिएको थियो भने दोस्रो सत्रमा राष्ट्रिय कविवर माधवप्रसाद घिमिरेको स्मृति दिवस तथा अन्तर्राष्ट्रिय भारत वर्षमा रहेर भाषा, साहित्य, संगीत, कला लगायतका बहुविधा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने संस्थाबाट अभिनन्दित सर्जक अशोक राईको स्मृतिमा उहाँका कालजयी सिर्जना प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।

पहिलो सत्रको कार्यक्रमको प्रमुख अतिथिका रूपमा काँकरभिट्टा पर्यटन कार्यालयका कार्यालय प्रमुख छविप्रसाद खतिवडा रहनुभएको थियो।
कार्यक्रममा होटल हिकोला हेरिटेज प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले होटलले १२ वर्षको अवधिमा हासिल गरेका उपलब्धि, सामना गरेका चुनौती तथा आगामी योजनाबारे जानकारी गराउनुभयो।
उहाँले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा होटलले निर्वाह गरेको भूमिका, काँकरभिट्टा शाखाको विस्तार, शाखासँग सम्बन्धित वर्तमान कानुनी अवस्था तथा पर्यटन विकासमा साहित्य, संगीत र कलाको भूमिका बारेमा प्रकाश पार्नुभयो।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले पर्यटनसम्बन्धी कार्यपत्र तथा धारणा प्रस्तुत गर्नुभएको थियो।
अग्रज सञ्चारकर्मी तथा साहित्य चौतारीका प्रेस सल्लाहकार सुव्रत न्यौपानेले ‘पर्यटनमा सञ्चारको भूमिका’ विषयमा धारणा राख्नुभयो।
काँकरभिट्टा पर्यटन कार्यालयका कार्यालय प्रमुख छविप्रसाद खतिवडाले पर्यटनको विगत र वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो।
साहित्य चौतारीका उपाध्यक्ष तथा वरिष्ठ चित्रकार हिम्मत नेम्बाङले ‘पर्यटन प्रवर्द्धनमा मूर्तिकलाको महत्त्व’ विषयमा प्रकाश पार्नुभयो।
त्यस्तै अध्यागमन कार्यालयका सहायक प्रबन्धक इन्द्रकुमार राजवंशीले पर्यटन आगमनबारे धारणा राख्नुभयो।
पहिलो चरणको कार्यक्रमको स्वागत होटल हिकोला हेरिटेजको स्वागत कक्षका युवा कवि प्रमोद दाहालले पर्यटनलक्षित कविता प्रस्तुत गर्दै गर्नुभएको थियो।
पर्यटन कार्यालय काँकरभिट्टाका लेखा अधिकृत ईश्वरीप्रसाद पौडेलले पर्यटनको महत्त्व विषयमा प्रकाश पार्नुभयो।

कार्यक्रममा पर्यटन पत्रकार मञ्चका अध्यक्ष विनोद पाण्डे, सचिव हिमाल खरेल, बिर्तामोड उद्योग वाणिज्य सङ्घका प्रतिनिधि विशाल थापा, शिक्षा तथा पर्यटन क्षेत्रबाट एमईटी कलेजका संस्थापक आईएस ढकाल, नाटाका तर्फबाट प्रतिनिधि नवीन खरेललगायत होटल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो सत्रमा बहुसर्जकहरूको सिर्जनालाई सुमधुर स्वरका माध्यमबाट विश्वमा नेपाली संगीतलाई सुभासित गराउने चर्चित तथा उत्कृष्ट गायिका जुनु गौतमलाई विशेष सम्मान गरिएको थियो।
संगीतकार तथा मानार्थ सल्लाहकार जीवन अधिकारी तथा कार्यक्रमका अध्यक्ष देवीभक्त श्रेष्ठले पानसमा दीप प्रज्वलन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अगाडि दीप प्रज्वलन गरी दोस्रो सत्रको कार्यक्रम उद्घाटन गर्नुभयो।
कार्यक्रमलाई भव्य बनाउन नौमती बाजा समूहले कर्कट ध्वनिका साथ उपस्थित अतिथिहरूलाई भव्य स्वागत गरेको थियो। कार्यक्रममा राष्ट्रिय कविवर माधवप्रसाद घिमिरेको स्मृति दिवस तथा सर्जक अशोक राईको स्मृतिलाई केन्द्रमा राख्दै साहित्य, संगीत तथा कलाका विभिन्न सिर्जना प्रस्तुत गरिएको थियो।
कार्यक्रमका बीच वर्ष उत्कृष्ट कर्मचारी दीर्घसेवा सम्मानअन्तर्गत विगत चार दशकभन्दा बढी समयदेखि निरन्तर हिकोला ग्रुपमा रहेर कम्पनीको हित तथा उन्नयनमा योगदान पुर्याउनुभएका कर्मचारी कृष्णकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।
त्यस्तै हिकोला हेरिटेजका तर्फबाट सुरक्षामा उत्कृष्ट सेवा तथा दक्षता प्रदान गर्नुभएको भन्दै सुरक्षाकर्मी इन्द्रकुमार दर्जी महरालाई वर्ष उत्कृष्ट अतिथि सेवा सम्मान पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट सेवाग्राहीका रूपमा पवन सिंह भण्डारीलाई पनि सम्मान गरिएको थियो।
होटल हिकोला हेरिटेजको औपचारिक शुभारम्भ तत्कालीन पर्यटन मन्त्री कृपा शेर्पाले २०७२ साल भदौ ४ गते गर्नुभएको थियो।
हिकोला हेरिटेज प्रालिका प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठकी जेठी छोरी मनिता श्रेष्ठको जन्मदिनको अवसर पारेर उक्त होटलको उद्घाटन गरिएको थियो।
होटलले आतिथ्यता सेवा प्रदान गर्नुका साथै स्थानीय पर्यटन, रोजगारी, सांस्कृतिक पहिचान तथा पूर्वी नेपालको पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्नो यात्रा अघि बढाउँदै आएको छ।
दोस्रो चरणको सांगीतिक सत्रमा विशिष्ट अतिथिका रूपमा गायक तथा संगीतकार उत्तम अधिकारी र गायक तथा संगीतकार डा. सुमन निरौला रहनुभएको थियो।
कार्यक्रममा अभिनन्दित नेपाली चलचित्रका अग्रज सर्जक विनोद बिष्टको पनि आतिथ्यता रहेको थियो।
विगत लामो समयदेखि नेपाल र भारतवर्षमा रहेका स्रष्टा तथा सर्जकहरूलाई पुलका रूपमा जोड्ने काम गर्दै आउनुभएका संस्थाका अवैतनिक राजदूत तथा सल्लाहकार, भारतवर्षका वरिष्ठ पत्रकार डीएल प्रधान, वरिष्ठ साहित्यकार डा. खगेन्द्र दाहाल, उहाँकी धर्मपत्नी भगवती कोइराला दाहाल, झापा जिल्ला संस्थागत साहित्य, कला, संस्कृति समन्वय महासमिति परिवारको तर्फबाट माइपोखरीको प्रतिनिधित्व गर्दै साहित्यकला संगम दमकका सहसचिव मेघनाथ बन्दु, माइवारीको प्रतिनिधित्व गर्दै राजु बराल, औषधी व्यवसायी सङ्घ झापाका अध्यक्ष जीवनकुमार खड्का, साहित्यकार शिव अधिकारी, ईश्वरी पौडेल, संस्थापक सल्लाहकार तथा अग्रज सञ्चारकर्मी सिरो सान्दाई, सर्जक नितेश विक, साहित्य चौतारी कार्यसमिति सदस्य तथा गीतकार एनबी दाहाल, नवीन एमईटी कलेज संस्कृत विभागका प्रमुख गणेश आचार्य, मेचीपुत्र मेची बहुमुखी क्याम्पसका पूर्व प्रधानाध्यापक लीलाप्रसाद अधिकारी, अग्रज पत्रकार देवेन्द्रकृष्ण ढुङ्गाना, सूर्योदय टेलिभिजनका कर्पोरेट निर्देशक यम बिमली, हिकोला हेरिटेजका म्यानेजर विवेक बराल, निमा डोल्मा, छिरिङ कुमार श्रेष्ठ, पत्रकार सन्तोष न्यौपाने, उद्धवपुरी, साहित्य चौतारीका प्रेस सल्लाहकार तथा मोफसल अनलाइनका सम्पादक भरत प्रसाईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा गायिका ज्योति खाती र सुमित्रा अधिकारी खतिवडाले सांगीतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक र रौनकमय बनाउनुभयो।
त्यस्तै साहित्यकार इलामेली जेठोले साहित्य पर्यटनको सम्भावनाका सन्दर्भमा आफ्नो धारणा राख्नुभयो। साहित्य चौतारीका सल्लाहकार संयोजक राजेन्द्र संग्रौला तथा अग्रज स्रष्टा तथा सल्लाहकार अनिरुद्र ओली लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
संगीत विद्यालयको माध्यमबाट विगत दुई दशकभन्दा बढी समयदेखि संगीतका कखरादेखि नेपालका उत्कृष्ट मञ्च हुँदै अन्तर्राष्ट्रिय मञ्चसम्म प्रतिभा पुर्याउन सफल भूमिका खेलेको सर्गम संगीतालयलाई ‘वर्ष उत्कृष्ट संगीत विद्यालय’को उपाधिबाट विभूषित गरिएको थियो।
संगीत विद्यालयका तर्फबाट संस्थापक अध्यक्ष दीपक रायमाझी र जीवनसंगिनी कोपिला लिम्बुले सम्मानपत्र ग्रहण गर्नुभएको थियो।
उहाँहरूलाई दोस्रो सत्रका प्रमुख अतिथि जीवन अधिकारी तथा साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।

सम्मानित रायमाझी साहित्य चौतारी झापाका निवर्तमान उपाध्यक्ष तथा वरिष्ठ संगीतकारसमेत हुनुहुन्छ। उहाँले लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै धेरै प्रतिभा उत्पादन गरिसक्नुभएको छ।
कार्यक्रममा सर्गम संगीत विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट सांगीतिक प्रस्तुतिमार्फत थप ऊर्जा भरेका थिए। सर्गम संगीत विद्यालयका तर्फबाट अर्पण निरौला, रिदिमा भेटवाललगायतले प्रस्तुति दिएका थिए।
कार्यक्रममा संगीत विद्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने मित्र मेलवा गुरुकुल तथा साहित्य चौतारीको उत्कृष्ट प्रस्तुतिका रूपमा ज्योति खातीले आफ्नो सांगीतिक कोसेली प्रस्तुत गर्नुभयो।
साधनाकला केन्द्र सुरुङ्गाबाट प्रेरणा ओली र हेमकुमार भेटवाल, साहित्य चौतारीका पूर्व उपाध्यक्ष तथा सम्मानित सर्जक कृष्ण सुवेदी ‘निराकार’ र पूर्व सहसचिव देवीचन्द्र भण्डारीलगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
आन्तरिक तथा बाह्य पर्यटनप्रतिको आकर्षणका सम्बन्धमा आकर्षक नाटक तथा महिला नौमती बाजा समूहले विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रममा अनुपमा ट्राभल्सका तर्फबाट निमा डोल्मा, छिरिङ कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई साहित्य चौतारीका संस्थापक संरक्षक तथा उपाध्यक्ष उर्मिला विमल श्रेष्ठले शब्दद्वारा स्वागत गर्नुभएको थियो।
कार्यक्रमको संयोजन साहित्य चौतारी झापाका उपाध्यक्ष तथा वरिष्ठ चित्रकार हिम्मत नेम्बाङले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो।
कार्यक्रममा साहित्य चौतारीका महासचिव गौरव श्रेष्ठले होटल व्यवसायी तथा गएको १२ वर्षमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा विभिन्न माध्यमबाट पर्यटन प्रवर्द्धन र व्यावसायिक रूपमा होटललाई सफल बनाउन सहयोग गर्नुहुने अतिथि, ग्राहक तथा विशिष्ट व्यक्तित्वहरूप्रति शब्दका माध्यमबाट धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका पहिलो सत्रका प्रमुख अतिथि छविप्रसाद खतिवडाले होटल हिकोला हेरिटेजले पर्यटन आतिथ्यतामा अत्यन्तै ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो।
उहाँले पर्यटन प्रवर्द्धनका लागि हिकोला हेरिटेजले साहित्य, कला र भाषाका माध्यमबाट पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
त्यस्तै सर्गम संगीतालयका सञ्चालक प्रकाश रायमाझीले साहित्य चौतारी कला, साहित्य र संगीतको विशाल पुस्तकालय भएको प्रतिक्रिया दिनुभयो। उहाँले प्राप्त सम्मानले सर्गम संगीतालयलाई अझ जिम्मेवारीका साथ आफ्नो कार्यमा निरन्तर अघि बढ्न हौसला मिलेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि जीवन अधिकारीले साहित्य चौतारी बिर्तामोड झापाले भारतवर्षका स्रष्टा–सर्जक तथा नेपालका स्रष्टा–सर्जकलाई जोड्ने काममा सेतुका रूपमा भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले भाषा, साहित्य, संगीत र कलाको श्रीवृद्धि तथा उन्नयनमा साहित्य चौतारी झापाको योगदान अतुलनीय, सम्मानयोग्य र प्रेरणादायी रहेको जिकिर गर्नुभयो।
होटल हिकोला हेरिटेजले आफ्नो १२ वर्षे यात्रामा आतिथ्यता व्यवसायसँगै पूर्वी नेपालको पर्यटन, स्थानीय कला–संस्कृति, साहित्य, संगीत तथा रोजगारी प्रवर्द्धनलाई समेत प्राथमिकतामा राख्दै आएको छ। १३औँ वर्षमा प्रवेशसँगै होटलले आफ्नो सेवा विस्तार, पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।














