उत्कृष्ट चालक सम्मानदेखि कर्मचारी सुरक्षा तथा आपत्कालीन कोष स्थापनासम्मका घोषणा
बिर्तामोड । विश्वकर्मा पूजाको पावन अवसरमा पूर्वेली ढुवानी सेवा प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत बोनम्यारो रोगबाट पीडित बिर्तामोड नगरपालिका–६ का १० वर्षीय साइमन हस्ता उपचारका लागि ११ हजार रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्ना कर्मचारी, चालक, सहचालक, व्यावसायिक साझेदार तथा पत्रकारहरूको उपस्थितिमा विभिन्न कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्व, कर्मचारी कल्याण तथा उत्कृष्ट कार्यसम्पादनको सम्मानलाई प्राथमिकता दिएको हो।

पूर्वेली ढुवानी सेवा प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा कम्पनीसँग आबद्ध भएर लामो समयदेखि योगदान पुर्याउने कर्मचारी तथा चालकहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी, उत्कृष्ट चालकका रूपमा पाँचथरको हिलिहाङ गाउँपालिका–२ का नरेश मगरलाई ३१ हजार रुपैयाँ र सोही स्थानका सुभाष प्रसाईंलाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। बिर्तामोड नगरपालिका–५ का तेजप्रसाद कडरियालाई चालक तथा ढुवानी व्यवसायको क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा चालक सुमन हेम्यालाई प्रोत्साहनस्वरूप ५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। कम्पनीले चालक तथा कर्मचारीहरूको मनोबल उच्च राख्दै उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निर्मलराज खत्रीले कम्पनीमा कार्यरत चालक, सहचालक तथा कर्मचारीहरूको आकस्मिक स्वास्थ्य उपचार र आपत्कालीन आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले ‘स्टाफ इमर्जेन्सी फण्ड’ सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो। उहाँले कर्मचारीको सुरक्षा, कल्याण तथा आपत्कालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको बताउँदै कम्पनी आफ्ना कर्मचारीको हित र सुरक्षाप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
अध्यक्ष खत्रीले चालक, सहचालक तथा कर्मचारीहरूमा थप प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले ‘चालक अफ द मन्थ’ कार्यक्रमसमेत सुरु गर्न लागिएको जानकारी दिनुभयो। उत्कृष्ट कार्यसम्पादन गर्ने चालकहरूलाई नियमित रूपमा प्रोत्साहन गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले पूर्वेली ढुवानी सेवा प्रालिले छोटो समयमै हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो। उहाँले कर्मचारी तथा चालकहरूको हौसला बढाउन सम्मान कार्यक्रम आयोजना गर्नुका साथै उनीहरूको स्वास्थ्य, सुरक्षा तथा आपत्कालीन आवश्यकताका लागि कोष स्थापना गर्न लाग्नु सकारात्मक कार्य भएको बताउनुभयो।
पछिल्लो समय विभिन्न आन्दोलन तथा असहज परिस्थितिमा सवारीसाधनहरू प्रभावित हुने गरेको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले चुनौतीका बीच पनि देशका विभिन्न जिल्लामा मालवाहक ट्रक सञ्चालन गर्दै सेवा प्रवाह गरिरहनु ढुवानी व्यवसायका लागि प्रेरणादायी भएको बताउनुभयो।
त्यस्तै, नेपाल पत्रकार महासङ्घ झापाका निवर्तमान अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य गणेश पोख्रेलले राज्यका नयाँ–नयाँ नीति, करको बोझ तथा व्यावसायिक चुनौतीका बीच पूर्वेली ढुवानी सेवा प्रालिले निरन्तर सेवा दिइरहेको बताउनुभयो। उहाँले यातायात व्यवसाय अत्यन्तै चुनौतीपूर्ण क्षेत्र भए पनि कर्मचारीको हितमा ‘चालक अफ द मन्थ’ कार्यक्रम घोषणा गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो।

मेची ट्रान्सपोर्ट एसोसिएसन झापाका सचिव पदम श्रेष्ठले चालक तथा सहचालकहरू लागूऔषध दुर्व्यसनमा फस्दा उनीहरू स्वयं, परिवार र समाजमा नकारात्मक असर पर्ने गरेको बताउनुभयो। उहाँले यसका कारण चालक तथा सहचालकप्रति समाजको दृष्टिकोणसमेत नकारात्मक बन्न पुगेको उल्लेख गर्दै कर्मचारी, चालक तथा सहचालकहरूलाई दुर्व्यसनबाट टाढा राख्न विशेष ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रममा पूर्वेली ढुवानी सेवा प्रालिले घोषणा गरेको कर्मचारी सुरक्षा, कल्याण तथा आपत्कालीन ‘स्टाफ इमर्जेन्सी फण्ड’ सञ्चालनका विषयमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गर्नुभएको थियो।

पूर्वेली ढुवानी सेवा प्रालिले पूर्वी नेपाललाई आधार क्षेत्र बनाएर देशभर मालवाहक ढुवानी सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा हाल १०० भन्दा बढी मालवाहक ट्रक सञ्चालनमा रहेका छन् भने चालक, सहचालक तथा कर्मचारी गरी करिब १०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। सुरक्षित, विश्वसनीय तथा समयमै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले ढुवानी व्यवसायमा आफ्नो पहिचान स्थापित गर्दै अघि बढिरहेको जनाएको छ।
पूर्वेली ढुवानी सेवा प्रालिले पूर्वी नेपाली क्षेत्रलाई आधार बनाएर श्रमलाई रोजगारीसँग जोड्दै स्थानीय जनताको आर्थिक उन्नयनमा समेत योगदान पुर्याउँदै आएको छ। राज्यमा देखापर्ने विभिन्न समस्या, आन्दोलन तथा असहज परिस्थितिका कारण लाखौँ–करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरे पनि कम्पनीले चालक, सहचालक तथा कर्मचारीहरूको सेवा–सुविधामा कटौती नगरी आफ्नो सेवा निरन्तर सञ्चालन गर्दै आएको बताएको छ।
अध्यक्ष खत्रीले आगामी दिनमा पनि सबैको विश्वास, कर्मचारीहरूको मेहनत तथा व्यावसायिक साझेदारहरूको सहकार्यलाई आत्मसात् गर्दै सुरक्षित, विश्वसनीय र प्रभावकारी ढुवानी सेवा प्रदान गर्न पूर्वेली ढुवानी सेवा प्रालि प्रतिबद्ध रहेको बताउनुभयो।
विश्वकर्मा पूजाको अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण शुभेच्छुक, चालक, सहचालक, कर्मचारी, व्यवसायी, साझेदार तथा आम नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेको छ।














