सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले सामाजिक संरचनालाई च्यात्ने काम भइरहेको बताउनुभएको छ ।
पछिल्लो समय सार्वजनिक अभिव्यक्ति नदिइ भेटघाटलाई मात्र तीब्रता दिनु भएका पूर्वराजा शाहले सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पद र लोभ देखाएर सामाजिक संरचना च्यात्ने काम भइरहेको बताउनुभएको हो ।
देशमा स्थायीत्व र स्थिरता सही राज्यपद्धतिले मात्र दिनसक्ने उहाँले बताउनुभयो । आलटाल, फेरबदल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने उहाँको भनाइ थियो ।
राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिएको हो । झापाको दमकमा रहनुभएका पूर्वराजा शाह सोमबार नै झापाबाट दिउँसो सडकमार्ग हुँदै इनरुवा पुग्नुभएको थियो ।














